• २३ असार २०८१, आइतबार

सेयर बजारमा कारोबार उकालो लाग्दै

blog

काठमाडौँ, असार २१ गते । सेयर बजारमा आशाका किरण देखिन थालेपछि कारोबार उकालो लाग्न थालेको छ । साताको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लाग्दा कारोबार रकम साढे छ अर्ब पुगेको छ । दैनिक बढ्दो क्रममा लागेको कारोबार रकम यो साताको अन्तिम दिन बढेरै बन्द भएको छ ।

बिहीबार ३१३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ८४ हजार १२६ पटक खरिदबिक्री हुँदा छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ४० करोड रुपियाँले बढी हो ।

बुधबार ३१४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर ६१ हजार १९९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार ९३५ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार पनि नेप्से परिसूचक १५.४७ अङ्कले उकालो लागेर २११९.७० को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.८४ अङ्कले उकालो लागेर ३७४.७० को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.७३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.४९ प्रतिशतले उकालो लागेको छ । मङ्गलबार उच्च अङ्कले सुधारिएको सेयर बजारले बुधबार पनि सुधारलाई निरन्तरता दिएको थियो ।

बिहीबार ३० करोड नौ लाख चार हजार ६९४ रुपियाँ बराबरको सेयर कारोबार भएर एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । अन्तिम दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये वित्त र उत्पादन तथा प्रशोधनबाहेक बाँकी ११ उपसमूहको परिसूचक उकालो लागेको छ । विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले उकालो लागेको छ भने जीवन बिमा १.९७ प्रतिशत, लगानी १.८९ प्रतिशत र होटल तथा पर्यटन १.७५ प्रतिशतले उकालो लागेको छ ।