• २३ असार २०८१, आइतबार

ओखलढुङ्गामा दुई सवारी दुर्घटना, चार जना घाइते

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार २० गते। ओखलढुङ्गामा बिहीबार दुई वटा सवारी दुर्घटना भएका छन्। जिल्लाको भुसुने जङ्गलमा भएको बोलेरो दुर्घटनामा दुई जना घाइते हुनुभएको छ। 

सिद्धिचरण राजमार्ग अन्तर्गत सिद्धिचरण नगरपालिका-८ जरङ्गेको भुसुने जङ्गलमा सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको स १ ज ५५६ नम्बरको डबल क्याप बोलेरोको एक्सल भाँच्चिएर अनियन्त्रित भई भएको दुर्घटनामा दुई जना घाइते हुनुभएको हो।

दुर्घटनामा सोलुखुम्बुको सोताङ गाउँपालिका–५ की ४२ वर्षीय रन्जिता खड्काको बायाँ हातको चार वटा औला चुँडिएको छ भने रामेछापको गोकुलगंगा गाउँपालिका–५ का ३१ वर्षीय दिनेश थापाको बायाँ कुम र ढाडमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो। 

खड्कालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। प्रहरी निरीक्षक कार्कीका अनुसार घाइतेलाई तत्काल उद्धार गरेर उपचारको लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको थियो। 

बोलेरो चालक बागलुङको ढोरपाटन नगरपालिका–७ स्थायी घर भएका २५ वर्षीय सहबहादुर विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो। 

बोलेरोमा सवार चालक र अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यसैबिच बिहीबार सिद्धिचरण नगरपालिका–११ सोबुरुमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। 

ओखलढुङ्गा सामुदायिक अस्पतालदेखि सदरमुकामतर्फ आउँदै गरेको प्र २–०१–००१ प ९७५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा.प्र ०१–०२६ च ०९३६ नम्बरको डबल क्याप बोलेरो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जना घाइते भएका हुन्। 

दुर्घटनामा मोटरसाइकल चालक चिशंखुगढी गाउँपालिका–६ भदौरेका  करिब ४० वर्षीय प्रकाश राई र सोही मोटरसाइकलमा करिब ५५ वर्षीय जगत बहादुर राई घाइते भएका हुन्। घाइते दुवै जनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। 

बोलेरो चालक, बोलेरो र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।