• २३ असार २०८१, आइतबार

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : छिचोलियो लेनडाँडा सुरुङमार्ग

blog

नेपाली सेनाद्वारा छिचोलिएको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग । तस्बिर : नेपाली सेना

काठमाडौँ, असार २० गते । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।  नेपाली सेनाका अनुसार द्रुतमार्ग योजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।

निर्माणाधीन लेनडाँडा जोडी सुरुङ (ट्वीन ट्युब टनेल)मध्ये निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको सेनाले जनाएको छ । छिचोलिएको सुरुङमार्गको लम्बाइ एक हजार ६१२ मिटर छ ।

सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गर्नुभएको थियो । सो अवसरमा प्रधान सेनापतिले तोकिएको समयमानै सुरुङमार्गहरु  छिचोलिने क्रम रहेकोमा खुसी व्यक्ति गर्नुहुँदै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनुभएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।


उहाँले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्यदक्षताको प्रशंसा गर्नुहुँदै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । उक्त कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियो ।

त्यस्तै यसअघि जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने एक हजार ६३३ मिटर लम्बाइको सुरुङमार्ग र जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङ ट्वीन ट्युब टनेलमध्ये एक हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरु छिचोलिएका थिए ।