• २३ असार २०८१, आइतबार

१६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

blog

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङ

काठमाडौँ, असार २० गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री तामाङले नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका लागि समिति गठन गरिएको बताउनुभयो । उहाँले सो निगमलाई सञ्चालन गर्न निजी क्षेत्रलाई पनि सहभागी गराउने विषयमा पनि सरकारले गम्भीर ढङ्गले छलफल गरिरहेको बताउनुभयो ।

मन्त्री तामाङले भन्नुभयो, ‘‘आगामी आर्थिक वर्षमा १६ लाख पर्यटकहरू भित्रिने छन् । नेपाल वायुसेवा निगमको समस्याको बारेमा पनि चिन्ताका साथ विषय उठाइएको छ । नेपाल वायुसेवा निगम भित्र देखिएको अनियमितताबारे छानबिन समिति हिजो गठन गरिएको छ । यसमा निजी क्षेत्रलाई समेट्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा भइरहेको छ ।’’

मन्त्री तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आफूले सक्दो पहल गरिरहेको पनि बताउनुभयो ।