• २३ असार २०८१, आइतबार

सांसदको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छु : मन्त्री बुढा

blog

सहरी विकासमन्त्री धनबहादुर बुढा ।

काठमाडौँ, असार २० गते। सहरी विकासमन्त्री धनबहादुर बुढाले आफूले सांसदको माग सम्बोधन हुने गरी मन्त्रालयगत बजेट विनियोजन गरेको बताउनुभएको छ।

बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदले मन्त्रालयगत बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो। मन्त्री बुढाले बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन, मानव विकास सूचकाङ्क, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औँ पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयलाई आधार बनाइएको पनि बताउनुभयो। उहाँले जनता आवास कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिइएको बताउनुभयो।

मन्त्री बुढाले भन्नुभयो, ‘जनता आवास कार्यक्रमको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ। माननीयले माग गर्नुभएको कार्यक्रम सम्बोधन गर्ने प्रयास गरेको छु। बजेट विनियोजनमा क्षेत्रीय सन्तुलनको अतिरिक्त मानव विकास सूचकाङ्क, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औँ पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयलाई आधार बनाइएको छ।’

मन्त्री बुढाले मन्त्री निवास, सङ्घीय संसद् भवन निर्माणलगायतका ठुलो परियोजना रहेकाले बागमती प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी बजेट विनियोजन गरिएको देखिएको स्पष्ट पार्नुभयो।