• २३ असार २०८१, आइतबार

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित

blog

संसदीय सुनुवाइ समितिको बैठक

काठमाडौँ, असार २० गते । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठक बसे पनि उजुरीकर्ताहरुको कुरा सुनेसँगै अनिश्चितकालका लागि संसदीय सुनुवाइ स्थगित गरिएको हो ।

बैठकबारे जानकारी गराउनुहुँदै समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले आजको बैठकमा उजुरीकर्ताहरुसँग सोधपुछ भएको र उजुरीकर्ताले आफ्ना धारणा राख्ने काम भएको बताउनुभयो ।

उहाँले उजुरीकर्ताहरुले राख्नुभएको धारणामा विचार विमर्श गर्न थप समय चाहिने भएकाले अनिश्चितकालका लागि सुनुवाइ स्थगित गरेको बताउनुभयो । उहाँले समितिले नाम अनुमोदन मात्रै गर्ने भए पनि अनुमोदनका लागि समेत समय चाहिएकाले समय थप गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

‘‘सोधपुछ भयो, उहाँहरुले आएर आफ्ना कुरा राख्नुभयो । जिज्ञासा धेरै थिए । धेरै कुरा राख्नुभयो । अहिलेका लागि यि सबै कुराको विचार विमर्श गर्न थप समय चाहिएको हुनाले अहिले कुन दिन भनेर नतोकी यो कुरालाई अहिलेको लागि स्थगित गरेका छौँ । उजुरीकर्ताहरुले आफूले बोलेको कुरा सार्वजनिक नगर्ने आधारमा कुरा गर्नुभएको थियो ।,’’ सभापति जबराले भन्नुभयो, ‘‘ कुराहरु महत्त्वपूर्ण छन् । निर्वाचन आयोग जस्तो संवैधानिक पद अत्यन्त डिग्निफाइट पद हो । हामीले अनुमोदन मात्रै गर्ने हो, अनुमोदन गर्न पनि थप समय लिने र थप विचार विमर्श गर्ने भनेका छौँ । थप समय लिने भन्ने निर्णय समितिले गरेको छ ।’’

सभापति जबराले उजुरीकर्तासँग छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने आवश्यकता समितले औंल्याएको बताउनुभयो ।