• २३ असार २०८१, आइतबार

छारेखण्ड सडकमा यातायात सुचारु

blog

दैनिक १२ घण्टा सञ्चालन हुन थालेको छारे खण्डको सडक । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला असार २० गते । कर्णाली कोरिडोरको छारे खण्डको सडकमा दैनिक बाह्र घण्टा यातायातका साधन सञ्चालनमा आएका छन् । नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले (सुनाखाडा) बिहीबार बिहानबाट यातायात सुचारु गरेको हो ।

समितिले निर्णय गरेर सो खण्डको सडक सञ्चालनको माग गर्ने निर्णय गरेलगत्तै सेनाले सो अवधिमा यातायातका साधन सञ्चालनको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताउनुभयो । 

समितिले असजिलो छारे खण्डको सडकको सबै निर्माण कार्य पूरा भएको कारण त्यसलाई हालका लागि बाह्र घण्टा सञ्चालनमा ल्याउने व्यवस्थाका लागि नेपाली सेनाको कर्णाली कोरिडोर निर्माण कार्यदल कालिकोटलाई अनुरोध गर्ने निर्णय गर्ने माग गरेको थियो । सो निर्णयको पत्राचार नेपाली सेनालाई स्थानीय प्रशासनले गत मङ्गलबार गरेको थियो । 

यसअघि सडकमा बिहान ७ बजेदेखि नौ बजेसम्म र दिउँसो एघार बजेदेखि एक बजेसम्म मात्र यातायातका साधनहरू सञ्चालन हुन दिने व्यवस्था उक्त खण्डमा सडक निर्माणमा खटिएको नेपाली सेनाले गर्दैआएको छ । यसले गर्दा दिउँसो १ बजेपछि ल्याप्चे पुग्ने यातायातका साधनहरू तेह्र घण्टा ल्याप्चेमै बस्नु परिरहेको छ । 

सेनाले आफ्नो जिम्माको निर्माण कार्य सबै सम्पन्न गरिसकेका कारण बिहानदेखि बेलुकासम्म यातायातका साधन सञ्चालन गर्न उपयुक्त देखिएकाले सेनाले पनि सडक सुचारुको व्यवस्था गरेको जनाएको छ । सडकमा निर्माण कार्य नहुने तर सडक खुल्ला गरिएको समय बाहेक अन्य समयमा सडक बन्द हुँदा दुवैतर्फ यातायातका साधनको जाम लाग्ने गरेको थियो । 

रातिको बाह्र घण्टा भने सडक बन्द गरिएको छ । काम सम्पन्न भए पनि सडक विभागलाई हस्तान्तरण कार्य नभएकाले नेपाली सेनाले सुनाखाडामा कुरेर बस्दैआएको छ । असार अन्तिमसम्म सेनाले दुल्ली कुनादेखि लालीबगरसम्मको सडक निर्माण गरेर हस्तान्तरण गर्ने अवधि रहेको र त्यो अवधिमा हस्तान्तरण गरिनेछ । यातायात व्यवसायीले सीमित समय सडक सुचारु हुँदा समस्या भोगेको र अब यातायात सञ्चालन समय बढाउन माग गर्दै आउनु भएको थियो ।