• २३ असार २०८१, आइतबार

बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सांसदको माग

blog

काठमाडौँ, असार २० गते । राष्ट्रिय सभाका सांसदहरुले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसदहरु शारदादेवी भट्ट, सुमित्रा बिसी, मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरुले किसानलाई मलको आवश्यक व्यवस्था मिलाउनका लागि वितरण प्रणाली पुनरवलोकन गर्न पनि सरकारलाई सचेत गराउनुभएको थियो ।

सांसद भट्टले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । उहाँले वर्षातमा धेरै नागरिक पीडित भएको र उनीहरुको राहतका लागि के काम भइरहेको छ ? भनी सरकारलाई प्रश्न गर्नुभयो ।

सांसद भट्टले भन्नुभयो, ‘‘म फेरि दोहोर्‍याएर यही सोध्न चाहन्छु कि बाढी, पहिरो, डुबान के नेपाल सरकारले कहाँ कति उद्धार गर्‍याे ? के–के व्यवस्था भयो ? सुन्न चाहन्छु ।  यसको व्यवस्थाका लागि जोडदार माग पनि गर्न चाहन्छु ।’’

त्यसैगरी सांसदहरुले वर्षाका कारण भूकम्पपीडितहरुले झनै पीडा व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरुको समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सुमित्रा बिसीले जाजरकोटमा पहिरोका कारण पाँच वर्षीय बालकको ज्यान गएको उल्लेख गर्नुहुँदै पीडितलाई उचित राहतको व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।

सांसद बिसीले भन्नुभयो, ‘‘देशभर बाढी, पहिरो आइरहेको छ ।  भूकम्पले छियाछिया भएको जाजरकोटमा फेरि दुःखद घटनाहरु सुरु भएका छन् । यही असार १६ गते वीरबहादुरको घर भत्केर पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेलाई औषधी उपचारको व्यवस्था गर्न म माग गर्दछु । मनाङको बाटो पनि जोखिममा छ । त्यसको पनि सरकारले उचित व्यवस्था गर्नुपर्छ ।’’

सांसद मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मलको अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाउन त्यसको वितरण प्रणालीमा पुनरवलोकन गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले किसानहरुले सुलभ र सहज रुपमा मल पाउने व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभयो ।

सांसद यादवले भन्नुभयो, ‘‘अहिले किसानहरुका लागि धान रोपाइँको व्यस्त सिजन हो । किसानहरुले सहज र सुलभ रुपमा मलखाद पाएका छैनन् । मेरो विचारमा मल वितरण प्रणालीलाई नै पुनरवलोकन गर्नुपर्छ ।’’

सांसद तुलसाकुमारी दाहालले सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले सार्वजनिक विद्यालयको शिक्षामा सुधार नगरेसम्म मुलुकको शैक्षिक क्षेत्रले प्रगति गर्न नसक्ने पनि उल्लेख गर्नुभयो ।

सांसद दाहालले भन्नुभयो, ‘‘सार्वजनिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन ढिलाइ भइसकेको छ । यसमा सरकार र सरोकारवाला सबैले ध्यान दिन आवश्यक छ ।’’

सांसद दाहालले एसइई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएकाले त्यस्तो अवस्था आउन नदिन पनि सरकार चनाखो हुनुपर्ने बताउनुभयो ।