• २३ असार २०८१, आइतबार

प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नेमा विश्वस्त : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगन थापा विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, असार २० गते । 
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्नुहुँदै महामन्त्री थापाले वर्तमान सरकारले बहुमत गुमाइसकेका कारण पदबाट राजीनामा गरेर मार्ग प्रशस्त गर्ने विश्वास आफूले लिएको बताउनुभएको हो ।

आफ्नो इच्छा नभए पनि पार्टी निर्णय मान्नु पर्ने परिस्थिति रहेको बताउनुभएको हो ।

यसैगरी, महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक, धार्मिक स्वतन्त्रता सबै कुरालाई थप सुदृढ गर्ने गरी संविधानको पुनरावलोकन गर्न कांग्रेसले प्रस्ताव गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कांग्रेसकै नेतृत्वमा बनेको संविधान जोगाउने जिम्मेवारी हाम्रो हो ।’’ उहाँले संविधान संशोधन गर्दा सबैलाई साथमा लिएर अगाडि बढ्ने र दुई दलले मात्र संविधान संशोधन गर्न सङ्ख्या नपुग्ने बताउनुभयो ।

त्यस्तै, उहाँले चार वर्ष पार्टी सरकारमा जान नहुने धारणामा आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो । यद्यपि, पार्टीले निर्णय गरेपछि मान्नु परेको उहाँको भनाइ छ ।

‘‘यो सरकार बन्ने या नबन्ने भन्ने कुरा व्यक्ति वा दलको मात्र कारणले हुँदैन रहेछ,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो, अहिलेको परिस्थिति वर्तमान प्रधानमन्त्रीका कारणले उत्पन्न भएको हो ।’’