• २३ असार २०८१, आइतबार

डेङ्गु नियन्त्रण गर्न महिला स्वास्थ्यकर्मी परिचालन गरिँदै

blog

बुटवल समाचारदाता

बुटवल, असार २० गते । बुटवल उपमहानगरपालिकाले डेङ्गुलगायत कीटजन्य रोगको नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । बर्खायाममा धेरै हुने डेङ्गु नियन्त्रणका लागि बुटवलमा सचेतनामूलक अभियानसमेत सुरु भएको छ । बर्खायाम सुरु भएसँगै एडिस जातको लामखुट्टे सक्रिय हुने र टोकाइबाट डेङ्गु रोग सर्ने भएकाले नियन्त्रणका लागि बुटवल उपमहानगरले स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरणसँगै सचेतनामूलक कार्यक्रम सुरु गरेको हो । 

उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकासँग डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । डेङ्गु रोग पानीमा बस्ने लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले घरवरपर टायर, गमला, ड्रमलगायतमा पानी जम्न नदिन स्वास्थ्यका विज्ञले सुझाव दिएका छन् । 

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेयले डेङ्गु रोग नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताउँदै टोलटोलमा पुगेर जनचेतना फैलाउन आग्रह गर्नुभयो । लार्भा खोज र नष्ट गर अभियानसँगै सबै जना सचेत बन्न सके डेङ्गु रोगबाट बच्न सकिने उहाँले बताउनुभयो । 

स्वास्थ्य शाखाका अधिकृत कल्पना भुसाल पाण्डेयले नगरका १९ वटै वडाका १७६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको र उहाँहरूमार्फत टोलटोलमा पुगेर सचेतना फैलाइने बताउनुभयो । 

बुटवलमा डेङ्गु नियन्त्रणका लागि हरेक वर्ष खोज र नष्ट गर अभियान चलाउने गरिएको छ तर यो वर्ष भने अभियान सुरु गर्नै ढिलाइ भएको छ ।