• २२ असार २०८१, शनिबार

विपत् न्यूनीकरणको पूर्वतयारी

blog

सैनामैनामा विपत् पूर्वतयारी तालिम प्रदान गर्दै । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, असार २० गते । रुपन्देहीका पालिकाहरूले विपत्जन्य घटना न्यूनीकरण गर्न पूर्वतयारी थालेका छन् । मौसमविद्हरूले यो वर्ष भीषण वर्षा हुने पूर्वानुमान गरेकाले रूपन्देहीका पालिकाहरूले विपत्जन्य घटना नियन्त्रण तथा न्यूनीकरण गर्न बजेटमै कोष व्यवस्था गरेर तयारी थालेका हुन् । बुटवल उपमहानगर, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिकालगायत गैहहवा, शुद्धोधन, सियारी र लुम्बिनी सांस्कृतिकलगायतका पालिकाहरूले विपत्जन्य घटना न्यूनीकरण गर्न पूर्वतयारीदेखि तालिमका कार्यक्रम गरिरहेका छन् । 

कञ्चन गाउँपालिकाका प्रमुख नवराज ढकालले विपत्जन्य घटना न्यूनीकरण गर्न पालिकाले पूर्वतयारीको काम थालेको बताउनुभयो । उहाँले पालिकाभित्र विपत्जन्य घटना भए तत्काल आफूहरूलाई खबर गर्न आग्रह गर्दै विपत्जन्य जोखिमका घटना नियन्त्रण गर्न आवश्यक उद्धारलगायतका सामग्री व्यवस्थापन गर्ने बताउनुभयो । यता सैनामैना नगरपालिकामा ७० जना स्वयंसेवकलाई दैवीप्रकोप तथा विपत् प्रतिकार्य तालिम प्रदान गरिएको छ । विपत् आइसकेपछिको भागदौडमा कसरी मानवीय तथा जनधनको क्षति कम गर्न सकिन्छ भन्ने हेतुले विपत् प्रतिकार्य तालिम दिइएको हो । 

विपत् आउनुअघि नै गर्नुपर्ने पूर्वतयारीका लागि सैनामैना नगरपालिकामा तालिम दिइएको हो । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामा बाढीपहिरो, लु तथा आगलागीजन्य विपत्का घटना न्यूनीकरण गर्न ७० जना स्वयंसेवकलाई तालिम दिइएको बताउनुभयो । नगर प्रमुख शर्माले आगामी दिनमा पनि विपत्जन्य घटना नियन्त्रण गर्न सैनामैनामा विपत् ब्युरो गठन गरिएको र स्वयंसेवक परिचालन गरेर विपत्जन्य घटना न्यूनीकरण गर्ने बताउनुभयो । सैनामैनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीको संयुक्त पहल र नेतृत्वमा विपत् प्रतिकार्य तालिम प्रदान गरिएको छ । विपत्को बेला कसरी खोज तथा उद्धार गर्ने भन्ने विषयमा तालिममा स्वयंसेवकलाई अभ्याससमेत गराइएको छ । 

तालिमका प्रशिक्षक, इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीका प्रहरी निरीक्षक प्रदीप पौडेलले विपत्को बेला पर्याप्त साधन नहुन सक्छ, त्यस्तो बेलामा कृत्रिम रूपमा लाइफ ज्याकेट, स्टे«चर कसरी बनाउने, डुबेको मान्छेलाई निकालेपछि कसरी बचाउने, अस्पतालसम्म कसरी लैजाने भन्ने विषयमा सैनामैनाका सम्पूर्ण वडाका स्वयंसेवकलाई तालिम दिएको बताउनुभयो । अहिले मनसुनजन्य समय भएकाले सैनामैनामा विशेष गरी बाढीको प्रकोप आउन सक्छ र बाढीबाट जनधनको क्षति न्यूनीकरण गर्न विभिन्न अभ्यास गराएको बताउँदै पौडेलले सैनामैनामा त्यस्तो कुनै विपत् आएमा तत्काल प्रहरीलाई खबर गरिदिन आग्रह गर्नुभयो । दुई दिनसम्म सञ्चालन भएको विपत् प्रतिकार्य तालिममा सैनामैनामा छनोट भएका ७० जना स्वयंसेवकको सहभागिता थियो ।