• २२ असार २०८१, शनिबार

हिलाम्मे सडक, यात्रुलाई पीर

blog

बुलबुले समाचारदाता

सुर्खेत, असार २० गते । पश्चिम सुर्खेतका बासिन्दाले बर्सेनि बाटोघाटोको समस्या भोग्दै आइरहेका छन् । जिल्लाको पश्चिमी भेगमा सडकको सहज पहुँच छैन । केही गाउँठाउँमा जोडिएको सडक पनि कच्ची र जीर्ण छन् । 

बर्खाको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ भने हिँउदमा धुलाम्मे सडकको पीडा यहाँका बासिन्दाले भोग्दै आइरहेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर हो तर जिल्लाभित्रकै ठाउँ बाटाघाटा नपुग्दा निकै दुर्गम भएका छन् । 

सडक हिलाम्मे भएकाले पश्चिमी क्षेत्रका बासिन्दालाई वीरेन्द्रनगर आउजाउमा समस्या मात्र भएको छैन, हिलोमा फसेका गाडी धकेल्नुपर्ने यात्रुको बाध्यता छ । बर्खाको पानीले अधिकांश क्षेत्र हिलाम्मे भएको र वीरेन्द्रनगर आउजाउ गर्न धेरै कठिनाइ हुने गरेको चौकुने गाउँपालिका–६ का देवबहादुर थापाले बताउनुभयो । सवारीसाधन पाए पनि हिलाम्मे सडकमा गाडी फस्ने गरेको र छ घण्टाको दुरीमा रहेको वीरेन्द्रनगर पुग्न झन्डै नौ घण्टा समय लाग्ने गरेको उहाँले पीडा पोख्नुभयो । वर्षात्का कारण सडकको दुरावस्था भए पनि सम्बन्धित निकाय मौन रहेको उहाँको गुनासो छ ।

सडक हिलाम्मे भएका कारण सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर पुग्न कठिनाइ हुने गरेको चौकुने गाउँपालिका–७ का सागर मगरले बताउनुभयो । हिँडेर जान सकिँदैन, दुई पाङ्ग्रे सवारीसाधनमा चल्ने सक्ने अवस्था छैन भने चारपाङ्ग्रे सवारीसाधन चढ्दा कति बेला कहाँ फस्ने हो र धक्का लगाउनुपर्ने हो भन्ने चिन्ता हुने गरेको उहाँले बताउनुभयो । सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दै आए पनि समस्या ज्युँका त्युँ रहेको उहाँले दाबी गर्नुभयो । 

पटकपटक ध्यानाकर्षण

सडकको दुरावस्था र त्यसले दिने गरेको सास्तीबारे चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ध्यानाकर्षण गराइसकेको बताउनुभयो । पुल निर्माणमा ढिलाइ हुँदा आवतजावत गर्न सास्ती भएको र समयमै सडक निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । 

मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका प्रमुख नरेन्द्र भट्टले पुल निर्माणका क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्षले विकले बताउनुभयो । तत्काल आवश्यक कामदार र इन्जिनियरको टोली खटाएर बाटो आवतजावतमा देखिएका समस्याको समाधान गरिने उहाँले बताउनुभयो । उहाँले पुल निर्माण नहुञ्जेल वैकल्पिक मार्गका रूपमा अन्य स्थानबाट सहज आवतजावतको व्यवस्था गरिने जानकारी दिनुभयो । 

यसै गरी सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले स्थानीय बासिन्दाका समस्या समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिने बताउनुभयो । उहाँले सडकको सहज आवतजावतका लागि देखिएका ठाउँमा तत्काल समस्याको समाधान गर्ने गरी काम अघि बढाउनुपर्ने समेत जानकारी दिनुभएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिमका तीन वटा पालिका जोड्ने सडक स्तरोन्नति हुँदै छ । बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्डमा काम भइरहेको छ । 

पुल निर्माणमा ढिलाइ

उक्त सडकखण्डमा तीन वटा पक्की पुल निर्माण हुने भएका छन् । अहिले एउटा पुल निर्माणको काम सकिएको छ भने दुई वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् । एउटै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको हो । पुल निर्माणको काममा ढिलाइ हुँदा बर्खामा यहाँका बासिन्दाले सास्ती खेप्नुपरिरहेको छ । 

डिजाइन एन्ड बिल्ड ठेक्कामार्फत तीन वटा पुल निर्माण हुने भएका छन् । २०७८ फागुन २ गते तीन वटै पुलको ठेक्का सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८१ मङ्सिर ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । एउटा पुल निर्माण समयमै सम्पन्न भएको भए पनि अन्य दुई वटा पुल निर्माणको काममा ढिलाइ भइरहेको मदन भण्डारी राजमार्ग कार्यालयका इन्जिनियर रेशम ओलीले बताउनुभयो । उहाँका अनुसार गुटु खोला, ब्युरेनी र विद्यापुर खोलामा तीन वटा पुल निर्माण हुने छन् । विद्यापुर खोलामा पुल निर्माण सम्पन्न भएर गाडी चलिसकेका छन् भने गुटु खोला पुल निर्माणको ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । त्यसै गरी ब्युरेनी खोला पुलमा ६५ प्रतिशत काम सकिएको छ । यद्दपि निर्माण कम्पनीको लापर्बाहीका कारण काममा ढिलाइ भइरहेको सडक कार्यालयले जनाएको छ ।