दोलखा समाचारदाता
दोलखा, असार २० गते । गहुँको जाँडमा गहुँकै सातु मिसाएर तयार पारिएको खाजा हो, पोल्दक । दोलखाका जिरेल समुदायमा पोल्दक कुनै समय निकै प्रचलनमा थियो । करिब एक मानाको डल्लो (गहुँको जाँड र सातु मिसाइएको) पोल्दक र आलुको अचारसहितको खाजा जिरेल समुदायमा निकै सम्मानित मानिन्थ्यो । यसले थोरै मादकता दिन्थ्यो । भोक मेटिन्थ्यो । थकाइ बिर्सिइन्थ्यो । आपसमा रमाइलो गरी मेला सकिन्थ्यो ।
जिरी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक टेकबहादुर जिरेलका अनुसार खेतीको समयमा पोल्दक अनिवार्य हुन्थ्यो । अहिले आधुनिकतासँगै जिरेल समुदायको परम्परागत खाजा पोल्दक विस्थापित भएको छ ।
उहाँका अनुसार घाम होस् कि पानी, घुम ओढेर रोपाइँमा तल्लीन हुन्थे खेताला । घुमैघुमका बाउसे र रोपाहार ५०/६० युवकयुवतीमध्ये बाउसे र रोपाहार एक/एक जनाको टोली बनेर दोहोरी गीत घन्काउँथे । अहिलेको जस्तो मायाप्रीति र छाडा गीत हुँदैनथ्यो । जीवनका दुःख, पीडा र निश्चल मायापिरतीका गीत गाउँथे । निरक्षर थिए उनीहरू तर जीवनका गीत धारा प्रवाह गाउँथे । गीतैगीतमा बिहेबारीसमेत गर्दथे ।
खाना संस्कृतिमा आएको परिवर्तनबाट आश्चर्य मान्नुहुन्छ, स्थानीय सुमनकृष्ण जिरेल । त्यो बेला यहाँका रातमाटे, सिक्री, ढुङ्गे, कोट जस्ता गाउँ पोल्दकका लागि प्रख्यात थिए । अहिले त्यहाँकै नयाँ पुस्ता पोल्दकबारे केही जान्दैनन् ।
उहाँले भन्नुभयो, “संस्कृतिको कुरा गर्दा, भाषा, साहित्य र सम्पदाको संरक्षण भनिरहँदा खाना संस्कृति (पाककला) का विषयमा समेत स्थानीय तहको ध्यान जानु पर्छ ।”
स्थानीय पदमबहादुर जिरेलले आयातित तयारी खाजाले जिरेलको खाना संस्कृति पोल्दक विस्थापित भएको दाबी गर्नुभयो । चाउचाउ, बिस्कुट, चाउमिन, चटपटेलगायत आयातित खाजाले स्थानीय परिकार विस्थापित भएको दाबी उहाँको छ ।
उहाँका अनुसार २०४० सालदेखि पोल्दक खाजा पूर्ण रूपमा बन्द भएको हो । जिरीमा सडक र बजार विस्तारसँगै पोल्दक विस्थापित भएको हो ।
जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले खेतीपाती अधिकांश बन्द हुन थालेका बेला पोल्देक खाजा पुनः प्रचलनमा आउने सम्भावना नभएको बताउनुभयो । उहाँले अल्पसङ्ख्यक जिरेल समुदायको आफ्नै भाषा, संस्कृति, रीतिरिवाज रहेकाले यसको संरक्षणमा कार्ययोजना बनाइने बताउनुभयो ।