• २२ असार २०८१, शनिबार

दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै

blog

फाइल तस्बिर

दाङ, असार १९ गते । दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण सुरु भएको छ । घोराही उपमहानगरपालिका-१६ स्थित सेवार खोलामा २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो । 

पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर उपेन्द्र दासले तीन करोड ५० लाखको लागतमा तीन वर्षभित्र पुल निर्माण गर्नेगरी रायमाझी निर्माण सेवा प्रालि काठमाडौँले काम सुरु गरेको जानकारी दिनुभयो । उहाँले ७० मिटर लम्बाइ र २० दशमलव पाँच मिटर चौडाइको पुल बनिरहेको बताउनुभयो । 

यहाँ पुल नहुँदा बर्सातको समयमा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । पुल निर्माण सुरु भएपछि स्थानीय तथा यात्रुहरू खुसी भएका छन् । तुलसीपुर निवासी रामचन्द्र केसीले भन्नुभयो, “बर्सातमा भेल आउँदा वारपार गर्न निकै समस्या हुने गरेको छ । पुल निर्माण सुरु भएपछि समस्या समाधान हुनेछ । निर्धारित समयमै पुल निर्माण गर्न हाम्रो आग्रह छ ।”

घोराही–तुलसीपुर सडकखण्डका अधिकांश खोलामा पुल बनिसकेका छन् । सेवार खोला र हापुर खोलामा पुल निर्माण गर्न बाँकी छ । सेवार खोलामा पुल निर्माण सुरु भए पनि हापुर खोलामा कहिले पुल निर्माण हुने हो टुङ्गो छैन । यसअघि तुलसीपुर–लमही सडकखण्डअन्तर्गत कटुवा खोला, बबई खोला, गुर्जे खोला, सिस्ने खोला, पत्रे खोला, कालाखोला, ग्वारखोला र सक्राम खोलामा पुल निर्माण भइसकेका छन् । रासस