• २१ असार २०८१, शुक्रबार

हुम्लाका गाउँपालिकाको बजेट दुई अर्ब ३९ करोडभन्दा बढी

blog

बजेट पारितका लागि बसेको अदानचुली गाउँपालिकाको गाउँ सभाका सहभागीहरु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार १९ गते । 
हिमाली जिल्ला हुम्लाका छ वटा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि दुई अर्ब ३९ करोडभन्दा बढी बजेट रहेको छ । सबै गाउँपालिकाले गाउँ सभाबाट असार १० देखि १६ गतेसम्म सो बजेट पारित गरेको हो ।

जिल्लाका सात मध्य छ वटा गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट दुई अर्ब ३९ करोड ३४ लाख १९ हजार रहेको छ । यो बजेट चालु र पुँजीगत हो ।

यसमा सिमकोट गाउँपालिकाले रैथाने बाली, फलफूल, पर्यटन क्षेत्र, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ४९ करोड २८ लाख ४५ हजारको बजेट ल्याएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बजेट तथा कार्यक्रमले कृषि, पर्यटय र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै सभाबाट ३६ करोड ९२ लाख ७६ हजारको बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिनुभयो ।

यसैगरी, शिक्षा, स्वास्थ्य लक्षित वर्ग, कृषि क्षेत्रलाई प्राथमिकता दिएर ताँजाकोट गाउँपालिकाले गाउँ सभाबाट पारित गरेको बजेटमा ३७ करोड रहेको अध्यक्ष लालकेस जैसीले बताउनुभयो । यसैगरी, गौरभका योजना, शिक्षा, स्वास्थ्य, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै सर्केगार्ड गाउँपालिकाले आगामी आर्थिक वर्षका  लागि ४७ लाख ६७ हजार २२ हजारको बजेट ल्याएको अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो ।

रोजगारी, उत्पादन, कृषि, आयआर्जन र पूर्वाधार क्षेत्रलाई बजेटले प्राथमिकता राख्दै आगामी आर्थिक वर्षका लागि ३७ करोड दुई लाख ७६ हजारको बजेट नाम्खा गाउँपालिकाले ल्याएको छ । यसैगरी अदानचुली गाउँपालिकाले ३३ करोड ४३ लाखको बजेट ल्याएको छ । कृषि, रोजगारी, आयआर्जन, पूर्वाधार विकास, एक घर एक धारा कार्यक्रमलाई प्राथमिकतामा उक्त गाउँपालिकाले राखेको छ । हालसम्म बजेट ल्याएका हुम्लाका गाउँपालिकाको बजेटको स्रोतमा सङ्घ, प्रदेश, राजस्व बाँडफाँट र केही अंश आन्तरिक स्रोतलाई मानिएको छ । चङ्खेली गाउँपालिकाको गाउँ सभा भने बस्न सकेको छैन ।