• २० असार २०८१, बिहिबार

उद्योगमा दुई खर्ब सत्र अर्ब लगानी प्रस्ताव

blog

काठमाडौँ, असार १८ गते । चालु आर्थिक वर्षको ११ महिनामा कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रुपियाँ पुगेको छ । 

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३८५ उद्योग दर्ता भई दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव आएको हो । ती उद्योग सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ । 

११ महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालु आवमा दुई सय साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा २८४ वटा उद्योग दर्ता भएका छन् । यस्तै ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ५० वटा दर्ता भएका छन् । यस्तै ८० वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ५० वटा दर्ता भएका छन् । 

यस्तै ११ महिनामा ३५९ परियोजनामार्फत ४४ अर्ब ३४ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।

प्रस्तावित विदेशी लगानीबाट सञ्चालित परियोजनाबाट १७ हजार ६४२ जनालाई रोजगारी पाउने अनुमान गरिएको छ । चालु आवको ११ महिनामा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योग आठ खानिजजन्यमा तीन र ऊर्जामा एक आएको छ । ११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । 

यस्तै ११ महिनामा दुई वटा प्याटेन्ट दर्ता भएका छन् । ११ वटा डिजाइन दर्ता भएका छन् । ११ महिनामा सबैभन्दा धेरै पाँच हजार ४९४ वटा ट्रेडमार्क दर्ता भएका छन् । जेठ महिनामा मात्र ४२३ वटा ट्रेडमार्क दर्ता भएका छन् । ८९ वटा टे«डमार्कसम्बन्धी मुद्दा कारबाहीमा परेको विभागको तथ्याङ्क छ । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । 

गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ  ।

स्वचालित मार्गबाट ११ अर्ब वैदेशिक लगानी

यसैबिच स्वचालित मार्गबाट ११ अर्ब १८ करोड वैदेशिक लगानी भित्रिएको छ । डेढ महिनाको अवधिमा स्वचालित मार्गबाट सो रकम भित्रिएको विभागले जनाएको छ । गत वैशाखमा भएको लगानी सम्मेलनमार्फत स्वचालित मार्गबाट लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा आएको थियो । स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म वैदेशिक लगानी गर्न पाउने व्यवस्था रहेको छ ।  

२०८० असोज १५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ५० करोड रुपियाँसम्म कुल पुँजी भएका विदेशी लगानीका परियोजना अब अनलाइनबाट स्वीकृत गर्ने निर्णय भएको थियो । सोही अनुसार स्वचालित मार्गबाट लगानी भित्र्याउने कार्यक्रम गत वैशाख महिनादेखि कार्यान्वयनमा आएको थियो ।