• १९ असार २०८१, बुधबार

भन्सार छली ल्याएका ३८ लाख बढीको कपडा बरामद

blog

प्रहरीले नेपालगन्जमा बरामद गरेको ३८ लाख बढीको तयारी कपडा । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार १७ गते । भन्सार छलेर भारतबाट नेपालगन्जमा लुकाएर भण्डारण गरिएको अवस्थामा प्रहरीले ठुलो परिमाणमा कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमवार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका २ न्यूरोड भानुभक्त चोकस्थित सोनी गुप्ताले आफ्नै घरमा राखेको ३८ लाख ३९ हजार २०० रुपियाँको तयारी कपडा बरामद गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले ३४ लाख १९ हजार २०० रुपियाँको चार हजार २७४ पिस कुर्ता सुरुवाल र चार लाख २० हजारको ८४० पिस साडी बरामद गरिएको बताउनुभयो । उहाँले बरामद गरिएका कपडा र व्यक्ति सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको बताउनुभयो ।

यति ठुलो परिमाणमा भारतबाट अवैध सामान भित्र्याएर नेपालगन्ज सहरमै पुर्‍याई भण्डारण गर्दा समेत सुरक्षा निकायले थाहा नपाउनुलाई स्थानीयले आश्चर्यको रूपमा हेरेका छन् । भारतबाट अवैध रूपमा भित्र्याइएका ठुलो परिमाणका विभिन्न सामानहरू प्रहरीले नेपालगन्जमा पटक पटक बरामद गर्दै आएको छ ।