• १९ असार २०८१, बुधबार

संसदीय समितिको टोली गौतमबुद्ध विमानस्थलमा

blog

विमानस्थल सञ्चालनमा देखिएका समस्याबारे छलफल गर्दै संसदीय टोली । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, असार १७ गते । प्रतिनीधि सभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याका बारे अध्ययन गर्न पूर्व पर्यटनमन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवा पुगेको छ ।

समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको छ । यस समितिमा रुपन्देही–२ बाट सङ्घीय सांसद रहनुभएका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, क्षेत्र नम्बर १ का सांसद तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, क्षेत्र नम्बर ४ का सर्वेन्द्रनाथ शुक्ला, क्षेत्र नम्बर ५ का वासुदेव घिमिरे र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीलगायत हुनुहुन्छ ।

समितिले असार १६ गतेदेखि १८ गतेसम्मको कार्यतालिका बनाएर आइतबार राति भैरहवामा आएको थियो । सोमबार विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी, निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटिहरु, विमास्थलको क्षमता र विस्तार, उद्देश्यबमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौती, विमानस्थल निर्माणको उद्देश्यअनुरुपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा छलफल गरेको छ ।

विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान सङ्ख्या भने वृद्धि नहुँदा स्थानीय तथा व्यवसायी निराश छन् । ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको हो । सञ्चालनको पहिलो वर्ष जजिरा एयरलायन्सले नियमित उडान भरेकाले यहाँको चहलपहल ठीकै थियो तर जजिराले हाल उक्त उडान रोकेपछि सुनसान बनेको छ ।