• १९ असार २०८१, बुधबार

दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाद्वारा गठबन्धन सरकार गठनको घोषणा

blog

दक्षिण अफ्रिका राष्ट्रपति सिरिल रामाफोसा

जोहानेसबर्ग, असार १७ गते । दक्षिण अफ्रिका राष्ट्रपति सिरिल रामाफोसाले विभिन्न राजनीतिक दलका मन्त्रीहरू सम्मिलित नयाँ राष्ट्रिय कार्यकारी मन्त्रीमण्डलको आइतबार घोषणा गर्नुभएको छ ।

प्रमुख विपक्षी दलले थप मन्त्रीपदको माग गरेपछि लामो वार्ता लगभग असफल भएको अनुमानहरू भइरहेका समय राष्ट्रपति रामाफोसाले अन्ततः लामो समयदेखि प्रतीक्षा गरिएको संयुक्त सरकार गठन प्रस्तावको घोषणा गर्नुभएको हो ।

गत जुन १९ मा रामाफोसाले आफ्नो दोस्रो कार्यकालका लागि शपथ लिएको एक साताभन्दा बढी समयपछि यो घोषणा गरिएको हो । निर्वाचन उहाँको दल अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी) ले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन असफल भएपछि एएनसीले तीन दशकमा पहिलो पटक सत्ता साझेदारी गर्न बाध्य भएको छ ।

एएनसीले डेमोक्र्याटिक एलायन्स (डीए), इन्काथा फ्रिडम पार्टी, अजानियाको पान अफ्रिकनिस्ट काङ्ग्रेसजस्ता १० विपक्षी पार्टीहरू मिलेर संयुक्त सरकारको गठन भएको हो ।

रामाफोसाले अबेर राति टेलिभिजनमा सम्बोधन गर्दै अर्थतन्त्र र सरकारको स्थायित्व नयाँ मन्त्रीमण्डलका लागि सबैभन्दा ठुलो चिन्ताको विषय हुने बताउनुभएको थियो ।

“आगामी सरकारले तीव्र, समावेशी र दिगो आर्थिक वृद्धि र गरिबी र असमानताको सामना गर्दै न्यायपूर्ण समाजको निर्माणलाई प्राथमिकता दिनेछ,” राष्ट्रपति रामाफोसाले नयाँ सरकारमा मन्त्रीमण्डलको घोषणा गर्दै भन्नुभयो ।

हालैको चुनावमा २१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको डीएलाई छ वटा मन्त्री दिइएको छ भने पार्टीका नेता ४८ वर्षीय जोन स्टेनहुसेनलाई कृषिमन्त्री नियुक्त गरिएको छ । केही साना दलले पनि आफ्ना नेतालाई मन्त्रीमा देख्न पाएका छन् । रासस/एएफपी