• १२ मंसिर २०८१, बुधबार

हराउँदै रोपाइँको मौलिकता

blog

मीना कँडेल

कावासोती, असार १७ गते ।  असारको दोस्रो साता बितिसकेको छ । मानो रोपेर मुरी फलाउने असार महिनामा यतिखेर किसानहरू खेतमा व्यस्त देखिएका छन् । दर्के झरी र चर्को घामको परबाह नगरी नवलपुरका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् । आकासे पानी पर्याप्त नभए पनि बोरिङ, कुलोको पानी पट्याएर धान रोपाइँ सुरु गरेको कृषकले बताएका छन् । 

किसान रोपाइँमा व्यस्त भए पनि रोपाइँको मौलिकता भने हराउँदै गएको छ । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रैथाने प्रविधि लोप हुँदै गएका छन् । हलो, जुवा र गोरुको ठाउँ ट्याक्टरले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । 

मध्यविन्दु नगरपालिका–४ का नरबहादुर चौधरीले मौलिकता हराएको चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला पहिला धान राम्रो फलोस् भनेर पूजा गरी बिउ चढाएर रोपाहारले असारे गीतको भाकासँगै धान रोप्न सुरु गर्दथे । अहिले त बाजागाजासहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएको छ ।” परम्पराको जगेर्ना गर्नेभन्दा दिवसमा रमाइलो गर्नेतर्फ आकर्षण बढेको छ ।

अहिलेका युवा पुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सिप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । मध्यविन्दु नगर उपप्रमुख पूर्णकला चौधरीले असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा बिस्तारै हराउँदै जान थालेको बताउनुभयो । 

उहाँले कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु राम्रो कुरा भए पनि परम्परागत सिप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई चटक्कै बिर्सन नहुने बताउनुभयो । स्थानीय कुलबहादुर महतो अब खेती गरेर जीविका चलाउन नसकिने अवस्था आएको बताउनुहुन्छ । 

महँगीले सबै कुराको भाउ बढेको छ । ट्याक्टरले रोपाइँ गर्दा लागत खर्च धेरै लाग्ने हुँदा आफूले अहिलेसम्म हलो, जुवा र गोरुका माध्यमबाटै खेती गर्दै आएको बताउनुभयो । आधुनिक मेसिन सहुलियत रूपमा वितरण गरेर किसानलाई राहत हुने भए पनि शारीरिक तन्दुरुस्त हुन र अन्नबाली धेरै उत्पादन गर्न हलो, जुवा र गोरुका माध्यमले नै रोपाइँ गर्नुपर्ने उहाँको बुझाइ छ ।

राष्ट्रिय धान दिवसको एक दिन खेतमा जाँदैमा कृषिमा क्रान्ति नआउने भन्दै खेती गर्न झन् गाह्रो हुँदै गएको मध्यविन्दुका दुर्गाप्रसाद भुर्तेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “जलवायु परिवर्तनले गर्दा समयमा पानी नपर्नु, सुक्खा खडेरीले समस्या परेको छ । समयमा पानी नपर्दा बिउ राख्न पनि ढिला भयो । अब रोपाइँ गर्न पनि आकाशको पानी कुर्नुपर्ने छ, किसान हरेक वर्ष एउटा न एउटा कुराले मारमा परेका छन् । सबैभन्दा पहिला वातावरण सन्तुलन गराउनु आवश्यक छ ।” 

असारको दोस्रो सातासम्म पूर्वी नवलपरासीमा २० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले खडेरीका कारण समयमा रोपाइँ हुन नसकेको बताउनुभयो । यसअघिका वर्षमा यतिखेर ४० प्रतिशत रोपाइँ भइसक्ने भए पनि यस वर्ष २० प्रतिशत मात्र रोपाइँ भएको बताउनुभयो । नवलपुरमा १८ हजार ६२८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ ।