• १९ असार २०८१, बुधबार

रातो नदी लिएर जुनु

blog

काठमाडौँ, असार १७ गते । हङकङमा बस्दै आउनुभएकी बागलुङकी कवि जुनु रानाको प्रथम कविताकृति ‘रातो नदी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले सो कृतिको शनिबार सार्वजनिक गर्नुभएको हो । पूर्वकुलपति काइँलाले चेतनालाई पक्रेर कविता लेखिरहेका कविका कवितामाथि चल्तीका भनिएका समालोचकको आँखा नपुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली साहित्यले आज एउटा दर्बिलो कृति पाएको छ । मूलधार भनिने एउटा पक्षले यो नहेरे पनि फरक पर्दैन । यस कृतिमा सबैथोक छन्, विषयवस्तु ओजिला छन् ।” उहाँले भन्नुभयो, “संरचना, विम्ब, प्रतीक र अलङ्कारको प्रयोग बढो राम्रो छ । कविले फारो गरेर शब्द चलाएकी छिन् ।”

कवि तथा प्राज्ञ श्रवण मुकारुङले ‘कमन’ लागिरहेको विषयलाई कवि रानाले नयाँ कोणबाट प्रस्तुत गरेको चर्चा गर्नुभयो । कवि तथा समालोचक डा. विन्दु शर्मा, कवि तथा सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र कवि तथा आख्यानकार बिना थिङले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।