• १८ असार २०८१, मङ्गलबार

‘देशैभर कानुनका जनशक्ति आवश्यक’

blog

देउखुरी (दाङ), असार १६ गते । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्रीले देशैभर कानुनका जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो कलेजमा कानुन अध्ययनरत विद्यार्थीसँगको अन्तरक्रियामा बोल्दै उहाँले कानुनका विद्यार्थीहरूले समाजलाई पनि कानुनीरुपमा सुसूचित गर्नुपर्ने बताउनुभयो । 

“कानुनविना केही काम गर्न सकिँदैन, सरकारले गर्ने कामको मूल आधार भनेको कानुन नै हो”, मन्त्री खत्रीले भन्नुभयो । उहाँले नेपालमा केही राम्रो छैन भन्ने भाष्य निर्माण हुँदै जानु दुःखद भएको बताउनुभयो । “हामीले नेपालमै केही गरेका व्यक्तिलाई उत्प्रेरक मान्न छाडेका छौँ, विदेश जानेलाई मात्रै पछ्याउने कुराले विदेश जानुपर्ने बाध्यता बनाइरहेको छ”, मन्त्री खत्रीले भन्नुभयो । 

तुलसीपुर मेट्रो कलेजले प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउँदै उहाँले यसलाई प्रदेश सरकारले नमुना कलेजका रूपमा स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सबैको पहुँचमा प्राविधिक शिक्षा पुर्‍याउन स्थानीय सरकारका पहलकदमीमा कलेज स्थापना गरिएको स्पष्ट पार्नुभयो । 

उहाँले कलेजले विभिन्न किसिमका प्राविधिक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको जानकारी दिनुभयो । विद्यार्थीहरूले कानुन सम्बद्ध विषयका साथै प्रदेश सरकारका काम कर्तव्य र अधिकारका बारेमा छलफल गरेका थिए । कार्यक्रमको सहजीकरण वसन्त आचार्यले गर्नुभएको थियो । रासस