• १८ असार २०८१, मङ्गलबार

सुख्खा मौसमले दुध उत्पादनमा कमी

blog

मकवानपुर, असार १६ गते । सुख्खा मौसमले तराईमा दुध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दुध सङ्कलन प्रभावित भएको छ । सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दुध सङ्कलन गर्दै आएको थियो ।

सोही अवधिमा विराटनगरमा धुलो दुध उत्पादनका लागि दैनिक १२ हजार लिटर दुध पठाउँदै आएको थियो । हाल दैनिक छ हजार लिटर दुध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दुध वीरगञ्ज, हेटौँडा र भरतपुरका उपभोक्ताले दैनिक चार हजार लिटर खपत गर्ने गरेको आयोजनाले जनाएको छ ।

मधेस प्रदेशको सर्लाही, बारा, रौतहट, पर्सा र बागमतीको मकवानपुरसमेत गरी करिब दुई सय दुध उत्पादक सहकारी संस्थाबाट आयोजनाले दैनिक दुध खरिद गर्दै आएको छ । आयोजनाले तराईका चार जिल्ला र बागमतीको मकवानपुर गरी करिब १२ हजार कृषकबाट दैनिक छ हजार लिटर दुध खरिद गरी मासिक एक करोड ५० लाख रकम भुक्तानी दिने गरेको हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजिव खनालले जानकारी दिनुभयो ।

आयोजनाले दैनिक एक हजार लिटर दही, एक हजार किलो घ्यू, एक हजार पाँच सय किलो मखन उत्पादन गर्छ । लालमोहन, पेडा र रसवरी छ सय किलो उत्पादन गर्दै आएको छ । उत्पादित दही, घ्यू, मखन र मिठाइहरु आयोजनाले हेटौँडा, वीरगञ्ज र भरतपुरका उपभोक्तालाई बिक्री गर्ने गरेको आयोजनाले जनाएको छ ।

हेटौँडा दुग्ध वितरण आयोजनाले बागमती प्रदेशको दुध विकास बोर्ड हेटौँडालाई धुलो दुध उत्पादन गर्न दुई देखि तीन दिनको अन्तरमा दुई हजार लिटर दुध पठाउने गरेको छ । बोर्डलाई दुध नपठाइएको दिनमा दुई हजार लिटर दुध आयोजनाले दही, मखन, घ्यू उत्पादनका लागि खपत गर्दै आएको आयोजना प्रमुख खनालले जानकारी दिनुभयो । तराईमा वर्षात भएसँगै केही दिन पछिबाट दुध उत्पादन वृद्धि हुने आयोजनाको भनाइ छ । रासस