• १८ असार २०८१, मङ्गलबार

मिडिया बचाउन नयाँ रणनीति ल्याउनुपर्छ : अध्यक्ष बस्नेत

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र अन्य अतिथिहरू । तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १६ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया बचाउन नयाँ रणनीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँमा आज प्रेस काउन्सिल नेपाल र सञ्चारीका समूहको संयुक्त आयोजनामा भएको  ‘न्यू मिडिया र पत्रकार महिला : युट्युबसहित सामाजिक सञ्जालको पत्रकारिता प्रभाव’ विषयक अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “अहिले न्यु मिडियाका कारणले अन्य मिडिया सङ्कटमा परेको छ । यो सङ्कटबाट बचाउन, प्रिन्ट मिडियालाई छिटोछरितो तरिकाले पाठकबिच लैजान व्यवस्थापकले नयाँ रणनीति बनाउनेतर्फ ध्यान दिनुपर्छ ।” उहाँले मर्यादित आचारसंहितामा रही मर्यादित पत्रकारिता गर्न सुझाव दिनुभयो ।  

अन्नपूर्णपोष्टका सम्पादक अखण्ड भण्डारीले पछिल्लो समय मूलधारका मिडिया सङ्कटमा परेको दाबी गर्दै त्यसलाई डिजिटल मिडियाले बचाएको बताउनुभयो । अबको १० वर्षमा पत्रिकाका पाठक ह्वात्तै घट्ने उहाँले दाबी गर्नुभयो ।  

मिडिया एड्भोकेसी ग्रुपकी अध्यक्ष अनिता विन्दुले यकिन तथ्याङ्क नभए पनि पछिल्लो समय न्यू मिडियाबाट पत्रकारिता गर्ने महिलाको सङ्ख्या बढ्दैगएको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यु मिडिया हाम्रो आधारभूत आवश्यकता बनेको छ । नेपाली पत्रकारितामा न्यू मिडियाका कारण महिलाको सङ्ख्या बढ्दो छ ।” 

पत्रकार निर्मला शर्माले सामाजिक सञ्जालमार्फत आएका सूचना तथ्य प्रमाणित गरेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो । त्यस्तै, पत्रकार बबिता बस्नेतले नयाँ प्रविधिसँगै अगाडि बढेर पत्रकारितामा रहेका पत्रकार महिलाले आफ्नो क्षमता तिखार्न सधैँ तत्पर हुनुपर्ने धारणा राख्नुभयो । 


त्यस्तै, नारी म्यागेजिनका सम्पादक उपासना घिमिरेले न्यु मिडियामा समाचार दिँदा सङ्ख्यात्मकभन्दा पनि गुणात्मक कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । महिला पत्रकारले आफ्नो क्षमता वृद्धि गर्नमा ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो । 

सञ्चारीका समूहका अध्यक्ष विमला तुम्खेवाले पत्रकार महिलाले न्यू मिडियामा आफूलाई सुरक्षित राख्दै पत्रकारिता गर्नुपर्ने थुप्रै चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि सधैँ तालिम र सचेतना जगाउने काम भइरहेको बताउनुभयो ।  

सञ्चारीका समूहका पूर्वअध्यक्ष नितु पण्डितले न्यू मिडियामा महिला पत्रकारले भोग्नु परेका चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार न्यू मिडियामा पत्रकारितामा महिलाले विभिन्न प्रकृतिका साइबर बुलिङ सहनु परेको छ । उहाँले म्याग संस्थाको रिपोर्टअनुसार ८८ प्रतिशत पत्रकार महिला डिजिटल हिंसामा परेका छन् ।  

इकान्तिपुर डटकमका सम्पादक दुर्गा खनालले अबको पत्रकारिता जीवन्त हुने आधार न्यू मिडिया रहेको भए पनि पत्रकारिताको मूल मर्म भुल्न नहुने बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुसालसहित महिला पत्रकारको सहभागिता थियो ।