• १७ असार २०८१, सोमबार

बन्दीपुरमा बिस किलोमिटर कालोपत्रे

blog

बन्दीपुर गाउँपालिका–२ मा कालोपत्रे गरिएको सडक । तस्बिर : अमरराज नहर्की

तनहुँ समाचारदाता 

तनहुँ (बन्दीपुर), असार १५ गते ।  तनहुँको बन्दीपुर गाउँपालिकाले एक वर्षकै अवधिमा २० किलोमिटर सडक कालोपत्रे गरेको छ । कालोपत्रेले यात्राको समय छोट्टिएको छ भने कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषि उपज ढुवानी गर्न सहज भएको छ  । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउन कालोपत्रे निर्माणलाई प्राथमिकतामा राखेको र झन्डै २० किलोमिटर कालोपत्रे पूरा भएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “सडक कालोपत्रे र पिसिसी गरेर यात्रा सजिलो बनाएका छौँ ।”

गाउँपालिकाभित्रका सडक कालोपत्रे, पिसिसी र ग्राभेल गर्ने कार्यसँगै बन्दीपुर गाउँपालिकाको मुहार फेरिन थालेको छ । निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता अनुसार गाउँपालिकाभित्रका मुख्य र सहायक सडक कालोपत्रे गर्ने र नाला पक्की गर्ने काम धमाधम भइरहेको अध्यक्ष थापा बताउनुहुन्छ । बन्दीपुर बजारमा केन्द्रित पर्यटनलाई गाउँ गाउँसम्म विस्तार गर्न सडक स्तरोन्नति तथा कालोपत्रेलाई प्राथमिकता दिएको अध्यक्ष थापाले बताउनुभयो । 

गाउँपालिकाको सबै जसो वडाका सडक पक्की र ग्राभेल भइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठका अनुसार सबै वडामा कालोपत्रे भएको छ । २, ४ र ५ वडा कार्यालयसम्म आगामी वर्षसम्म कालोपत्रे पु¥याउने लक्ष्य राखिएको श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सडक कच्ची हुँदा सानो पानी परे गाडी फसेर हैरानी, यात्राको भर नै नहुने भएकाले कालोपत्रेलाई प्राथमिकता दिएका हौँ ।” 

प्रवक्ता श्रेष्ठका अनुसार खहरे–सेराटार दुई करोड, प्रहरी बिट–टुँडिखेल ४५ लाख, सत्नले–तीनधारे चार लाख, शिखरडाँडा–तल्लोडुम्रे सात करोड, नाहाल–उपल्लोफाँट दुई करोड र सेराटार–वडा कार्यालय ६० लाख रुपियाँ लागतमा २० किलोमिटर कालोपत्रे भएको हो । गाउँपालिकामा सञ्चालित १२ वटा होमस्टेमा पर्यटकको पहुँच पु¥याउन सडकलाई प्राथमिकता दिइएको प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ ।