• १७ असार २०८१, सोमबार

चार लाखभन्दा बढी बिरुवा रोपिँदै

blog

घोराही उपमहानगरपालिका–४ स्थित सुनपुर सामुदायिक वन समूहको खाली जमिनमा वृक्षरोपण गर्दै स्थानीय ।

घोराही समाचारदाता

घोराही, असार १५ गते । दाङमा हरियाली प्रवद्र्धनसँगै भूक्षय नियन्त्रणका लागि चार लाखभन्दा बढी बिरुवा रोप्न थालिएको छ । डिभिजन वन कार्यालय घोराही र लमही अन्तर्गत यस वर्ष जिल्लाका विभिन्न सामुदायिक वन, निजी वन, नदी उकास क्षेत्रलगायतका विभिन्न क्षेत्रमा चार लाख ६० हजार बिरुवा रोप्न थालिएको हो । 

सामुदायिक वन समूहमा हरियाली प्रवर्धनसँगै वातावरण संरक्षण, भूक्षय नियन्त्रण र काठ उत्पादनका लागि डिभिजन वन कार्यालय घोराही अन्तर्गत दुई लाख ७० हजार र डिभिजन वन कार्यालय लमही अन्तर्गत एक लाख ९० हजार बिरुवा रोप्ने तयारी गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहन श्रेष्ठले वन समूहको खाली जग्गामा वृक्षरोपण गरेर हरियाली प्रवर्धनसँगै बाढी वातावरण संरक्षणका लागि बिरुवा रोप्न थालिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार घोराही, अम्बापुर र पुरन्धरामा रहेका नर्सरीमा बिरुवा तयार रहेका छन् ।  

वन क्षेत्रमा हरियाली प्रवर्धन गर्दै उपभोक्ताका लागि आम्दानीसँग जोड्न काठ प्रजातिसँगै विभिन्न जडीबुटी बिरुवा रोप्न थालिएको प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालय प्रमुख श्रेष्ठले जिल्लामा पहाडी क्षेत्रका रूपमा रहेका बगलाचुली गाउँपालिकासँगै घोराहीको वडा नं. १९ मा टिमुर, तुलसीपुर उपमहानगरपालिका–१९ को छिल्लीकोटमा मालागेडीलाई प्राथमिकतामा राखेर क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताउनुभयो । 

वनजन्य बिरुवासँगै जडीबुटीजन्य बिरुवालाई प्राथमिकता दिएर बिरुवा उत्पादन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वनलाई आम्दानीसँग जोड्दै विकास गर्न एक हजारभन्दा बढी बिरुवा टिमुर र मालागेडी रोप्ने तयारी छ ।” नर्सरीमा हुर्काइएका बिरुवा निःशुल्क वितरण गरिने छ । 

नर्सरीमा अर्जुन, टिमुर, मालागेडी, अमला, जामुन, तेजपात, कपुर, शीतलचिनी, मसलालगायतका उत्पादन भएको जानकारी दिनुभएको छ । उत्पादन भएका बिरुवा रोप्न जिल्लाका विभिन्न सामुदायिक, निजी, धार्मिक वन समूहसँगै सर्वसाधारणले माग गरेको बताउनुभयो । उपभोक्ताको माग आएका ठाउँको निरीक्षण गर्ने र रोपिएका बिरुवा हुर्काउने र संरक्षण गर्ने ग्यारेन्टी गरेर मात्र बिरुवा दिने गरेको डिभिजन वन अधिकृत श्रेष्ठ बताउनुहुन्छ । 

डिभिजन  वन कार्यालय लमही अन्तर्गत रहेका विभिन्न सामुदायिक वन क्षेत्रसँगै निजी नर्सरी र नदी तथा खोला उकास क्षेत्रमा वृक्षरोपणका लागि नयाँ एक लाख २० हजार र पुराना ७० हजार बिरुवार रहेको डिभिजन वन कार्यालय लमहीका वन अधिकृत रामगोपाल यादव बताउनुहुन्छ । वन अधिकृत यादवका अनुसार वृक्षरोपणका लागि अहिलेसम्म करिब एक लाख विभिन्न प्रजातिका बिरुवाको माग आइसकेको बताउनुभयो ।   

यसैबिच राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिका–४ मा रहेको सुनपुर सामुदायिक वन उपभोक्ता समूहको खाली जग्गामा एक सय बिरुवा रोपेको छ । 

वन समूहको खाली एक हेक्टर क्षेत्रफलमा एक हजार छ सय अर्जुन जातका बिरुवा रोप्ने योजना अनुसार शुक्रवार एक सय बिरुवा रोपिएको डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।