• १७ असार २०८१, सोमबार

विद्युत् वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टर उद्घाटन

blog

काठमाडौँ, असार १५ गते । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर उद्घाटन गरिएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौँको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टर उद्घाटन गर्नुभएको हो । 

काठमाडौँको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर उद्घाटन गर्दै मन्त्री बस्नेतले अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महìवपूर्ण पाइला भएको बताउनुभयो । उहाँले ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवालाई स्वचालित तथा आधुनिक बनाउन यो सेन्टर निर्माण महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो । 

एसियाली विकास बैङ्क, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुस्वाले प्राधिकरणको सेवालाई आधुनिक तथा डिजिटल बनाउन महत्वपूर्ण पूर्वाधार विकासको कोसेढुङ्गा भएको बताउनुभयो । उहाँले ऊर्जाको लागत घटाउन तथा भरपर्दो सेवा प्रवाहका लागि संस्थाको डिजिटलाइजेसन आवश्यक रहेकोमा जोड दिनुभयो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवा प्रवाहलाई स्वचालित, आधुनिक बनाई विद्युत् प्रणाली सुधार्न ‘डिजिटल एनइए’ अन्तर्गत धेरै काम अगाडि बढाइएको जानकारी गराउनुभयो । उहाँले डिजिटल एनइएमार्फत सूचना प्रविधिको प्रयोगमार्फत प्रशासन लागत घटाउने, कर्मचारीको दक्षता वृद्धि गर्ने, विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउने काम भइरहेको बताउनुभयो । 

‘प्री फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तला भवनको भुइँ तलामा काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् । 

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि ¥याक छन् । यसमा ३६ वटा सर्भर र चार वटा नेटवर्क ¥याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्त पूरा गर्न आवश्यक व्याकअपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानीलगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ । 

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लि. सँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई नेभेम्बरबाट काम सुरु भएको थियो । डेटा सेन्टरमा आवश्यक प्राविधिक उपकरण हुआवेले आपूर्ति गरेको हो । सरकार तथा प्राधिकरणको लगानी र नर्बे सरकारको प्राविधिक सहयोग तथा एसियाली विकास बैङ्कको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब एक अर्ब ४० करोड रुपियाँ छ ।