• १७ असार २०८१, सोमबार

कृषिलाई आकर्षक पेसा बनाउन आग्रह

blog

काठमाडौँ, असार १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले कृषिलाई आकर्षक पेसाका रूपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमै रोक्नुपर्ने बताउनुभएको छ ।

२१ औँ राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय रहेको बताउँदै जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।   

धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले श्रमशक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँको सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव बढ्दै जानु दुःखद रहेको बताउनुभएको छ । 

खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रूपमा लिई खाने बानीमा समेत परिवर्तन गरी अन्य बालीलाई समेत प्रवर्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले मुलुकको श्रमशक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँका सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद रहेको उल्लेख गर्नुभएको छ ।

धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यावसायीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने  राष्ट्रिय नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस, २०८१ मनाइने तयारी रहेको छ ।

कृषिप्रधान मुलुक भएकाले अधिकांश जनता कृषिमै निर्भर रहेको र प्रमुख खाद्यान्न बाली धान रहेकाले धान खेती आर्थिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक रूपले समेत महìवपूर्ण रहेको उहाँले बताउनुभएको छ ।

जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्नुपर्ने तथा सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई मुलुकको आवश्यकता अनुसारको धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । 

खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि राष्ट्रिय धान दिवसले थप उत्साह प्रदान गरेको बताउँदै राष्ट्रपति पौडेलले  नेपालको धान खेती आकासे सिँचाइमा निर्भर रहेकाले धान खेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बिउ र दक्ष जनशक्ति तयार गर्न तथा उत्पादन वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न  हुने  गरी ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।