• १६ असार २०८१, आइतबार

आर्थिक समृद्धिको ‘बेन्चमार्क’

blog

आर्थिक स्तरोन्नति कुनै पनि मुलुकको सपना र दीर्घकालीन लक्ष्य मानिन्छ । आर्थिक स्तरोन्नतिका निश्चित अन्तर्वस्तु हुन्छन् । अथवा धेरै चिजको तारतम्यमा मात्र आर्थिक स्तरोन्नतिको मूल फुट्न सक्छ । मुलुकको भौगोलिक बनावट, प्राकृतिक स्रोतसाधनको उपलब्धता, नेता, नेतृत्व, राज्यको कार्यसंस्कृति, शान्ति सुरक्षाको स्थिति, ऐन, नियमको परिपालना अवस्था आदि तत्वले आर्थिक स्तरोन्नतिको स्तर निर्धारण गर्छ । आर्थिक स्तरोन्नतिको गति तीव्र पार्न तपसिलका अन्तर्वस्तु सबल हुनु वाञ्छनीय हुन्छ ।

विधि, पद्धति अनुरूप मुलुक चल्नु, ऐन, कानुन हुबहु लागु हुनु, भ्रष्टाचार निरुत्साहित हुनु नै सुशासन हो । जुन मुलुकमा सुशासन कायम हुन्छ, त्यस मुलुकमा आन्तरिक तथा बाह्य लगानीकर्ता आकर्षित हुन्छन् । लगानीकर्ता आकर्षित हुँदा उत्पादन, रोजगारी र राजस्वमा बढवा मिल्छ । सुशासन कायम नहुनु भनेको भ्रष्टाचारले डेरा जमाउनु हो । विकास निर्माण कार्यमा मोलाहिजा हुनु हो । गुणस्तरहीन कार्यले प्रश्रय पाउनु हो । नेपालको सुशासन काबिल अवस्थामा छैन । यसर्थ आर्थिक समृद्धि चाहने मुलुकले सुशासन मजबुत बनाउने ताकत राख्नु पर्छ । 

मुलुकको समृद्धिका लागि बुनिएको सपना नै आर्थिक योजना हो । यसै पनि दूरदृष्टि योजनाबिना आर्थिक विकास असम्भव कुरा हो । आर्थिक समृद्धिको निमित्त कृषि, जलविद्युत्, पर्यटन, आधारभूत उद्योग, पूर्वाधार, मानवविकास जस्ता अर्थतन्त्रका आधारभूत क्षेत्रमा के कस्ता नीति, योजना र कार्यक्रम तय गर्ने, ती क्षेत्र उठानका निमित्त के कस्ता कार्यनीति, रणनीति अङ्गीकार गर्ने आर्थिक योजनमा प्रस्ट चित्र झल्कनु पर्छ । आर्थिक योजनमा सरकारको भूमिका, सरकारबाट उपलब्ध गराइने सेवा सुविधा, ऐन, कानुन, शान्ति सुरक्षा, बैङ्क तथा वित्तीय संस्थाको अवस्था के कस्तो हुने प्रस्ट खुल्नु पर्छ । नेपालमा आर्थिक योजना तय हुने गरे पनि कार्यान्वयन पक्ष फितलो छ । यसर्थ आर्थिक समृद्धिको चाहना राख्ने मुलुकले वैज्ञानिक आर्थिक योजना तयार गरी कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्न सक्नु पर्छ । 

आर्थिक समृद्धिमा काँध थाप्न सक्ने, मुलुकको समष्ठिगत उत्पादन र उत्पादकत्व फराकिलो पार्न सक्ने पौरखी जनशक्ति नै मानव संसाधन हो । मानव संसाधन आर्थिक समृद्धिको जीवन्त साधन पनि हो । पुँजी र प्राकृतिक साधन उत्पादन कार्यमा लगाउन मानव संश्साधन सुचालक हो । मानवीय साधनको गुणस्तर, आकार, कार्यक्षमता, संरचना, वृद्धि दर आर्थिक विकासको गति निर्धारक हो । जुन मुलुकले मेहनती, सिर्जनशील, धैर्यवान्, कटिबद्ध र साहसी मानव संसाधन पैदा गर्न सक्छ, त्यस्तो मुलुक अगाडि बढ्न समय लाग्दैन । जापान, चीन, सिङ्गापुर, दक्षिण कोरियाले यस्तै गुणवत्ताको कारण समृद्धि चुम्न सकेका हुन् । नेपालमा मानव संसाधनको समुचित उपयोग हुन सकिरहेको छैन । शिक्षा, तालिम, सिकाइका माध्यमबाट मानव संसाधन चुस्त बनाउन सकिन्छ । यसर्थ मानव संसाधन निखार्नका लागि गुणस्तरीय, व्यावसायिक र वैज्ञानिक शैक्षिक प्रणालीमा जोड दिनु पर्छ ।

आर्थिक समृद्धिका लागि आवश्यक पर्ने आधारभूत तत्व अर्थात् बाटोघाटो, रणनीतिक सडक, रेलवे, पुलपुलेसा, सुक्खा बन्दरगाह, बिजुली बत्ती, टेलिफोन, हवाई मैदान, ठुला सिँचाइ आयोजना नै भौतिक पूर्वाधार हो । पूर्वाधार मजबुत हुनु भनेको उद्योगधन्दा कलकारखाना खुल्ने वातावरण सिर्जना हुनु हो । पूर्वाधार मजबुत हुनु भनेको विद्यमान वस्तु तथा सेवा लागत न्यून हुनु हो । वस्तु तथा सेवाको लागत न्यून हुनु भनेको प्रतिस्पर्धात्मक क्षमता बलियो हुनु हो । स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता मजबुत हुनु भनेको, रोजगारी सिर्जना, राजस्व आर्जन, बचत तथा लगानीमा टेवा मिल्नु हो । नेपालमा भौतिक पूर्वाधारको अवस्था अझै नाजुक छ । यसर्थ आर्थिक समृद्धिका निमित्त भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्न वा मजबुत भौतिक पूर्वाधार निर्माण गर्न सकस मान्नु हुँदैन ।

राज्य सञ्चालनका निमित्त गरिने अनिवार्य दान नै कर हो । आर्थिक समृद्धिका लागि कर प्रणाली, करको दर, करको आयातन महत्वपूर्ण हो । त्यसो त विकासोन्मुख मुलुकमा कर चुहावटको मात्रा अधिक हुन्छ, कर तिर्न रुचाइँदैन । करको औचित्यता सुझाउन नसक्दा करदाता उदासीन बनेका हुन् । नेपालमा कर प्रणाली अझै सुदृढ हुन सकेको छैन । यसर्थ आर्थिक समृद्धि चाहने मुलुकले कर सङ्कलन गर्ने संयन्त्र चुस्त पार्नु पर्छ । सङ्कलित रकम करदाताको हितका लागि उपयोग भइरहेको छ भन्ने पुष्टि गर्न सक्नु पर्छ । कर चुहावटका छिद्र तुनिएको हुनु पर्छ । आयकर लगानीकर्ता अपेक्षाभित्र (१०/१५ प्रतिशत) हुनु पर्छ । करको डालो फराकिलो बनाई डालोमा धेरै भन्दा धेरै करदाता समेट्नु पर्छ । 

मुलुको आर्थिक अर्थव्यवस्था सञ्चालन गर्ने निकायको समुच्च रुप नै आर्थिक सङ्गठन हो । आर्थिक समृद्धिको खातिर आर्थिक प्रणाली, अर्थनीति, विकाससम्बन्धी मन्त्रालयहरू, सार्वजनिक वित्त, सुशासन कायम गर्ने निकायको भूमिका अहम् हुन्छ । अल्प विकसित मुलुकमा आर्थिक सङ्गठन नाजुक हुने हुँदा आर्थिक अनुशासन कायम हुन सकिरहेको हुँदैन । हाम्रा आर्थिक सङ्गठनको कार्यक्षमता दारुण अवस्था छ यसर्थ आर्थिक समृद्धिको सपना देख्ने जुनसुकै मुलुकले आर्थिक सङ्गठनका हरेक एकाइलाई चुस्त, दुरुस्त र कामयाव तुल्याउन सक्नु पर्छ ।

नयाँ नयाँ उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय फर्काउनु नै उद्यमशीलता हो । उद्यमशीलताबिना औद्योगिक विकास हुन सक्दैन । तथापि उद्यमशीलता मौलाउनका निमित्त लगानीकर्ताको लगानी सुरक्षा, लगानीकर्ताको जिउधनको सुरक्षा, लगानीकर्ताको सम्पत्तिको सुरक्षा प्रत्याभूत अपरिहार्य हुन्छ । उद्यमशीलताले मार्गप्रशस्त गर्न नसक्दा नेपालले गरिबी झेल्नु परेको हो । यसर्थ आर्थिक समृद्धि चाहने मुलुकले महिनाको ३० दिन ढुक्कसँग व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्न सक्नु पर्छ । राज्यले लगानीमैत्री कानुन निर्माण गरिदिनु पर्छ । 

लगानीयोग्य धनको बढावा नै पुँजी निर्माण हो । यसै पनि पुँजी आर्थिक विकासको सुचालक पनि हो । साधनको उचित उपयोग, उपभोग कटौती, अनिवार्य बचत, घाटा बजेट, सार्वजनिक ऋण सङ्कलन, वैदेशिक ऋण तथा अनुदान प्राप्ति पुँजी निर्माणका विधि हुन् । तथापि पुँजी निर्माण त्यति सहज कुरा होइन, नेपालका लागि त्यो झनै पहाड भइरहेको छ । पुँजी निर्माणका निमित्त आर्थिक व्रिmयाकलापको बढावा पाएको ठुलो हुनु पर्छ । नागरिकमा फजुल खर्च कटौती र बचत गर्ने बानी बसेको हुनु पर्छ । बचत तथा लगानीका लागि बैङ्क तथा वित्तीय संस्था प्रवर्धिन हुनु पर्छ । 

सृष्टिकालदेखि प्रकृतिले निःशुल्क रूपमा पदान गर्दै आएको जल, जमिन, जङ्गल, जडीबुटी, जलवायु, खनिज आदि नै प्राकृतिक साधन हो । कुनै पनि मुलुकलाई प्रकृतिले कुनै न कुनै साधन उपहारस्वरूप सुम्पिएको हुन्छ ।  प्राकृतिका साधनको उपलब्धताबाट मात्र कुनै मुलुक समृद्ध भइहाल्दैन । किन कि प्राकृतिक साधन स्वयम् सक्रिय साधन होइन । प्राकृतिक साधनले आपसेआप आर्थिक समृद्धिको सुरुवात गर्न सक्दैन । वैज्ञानिक प्रविधि, मानवीय प्रयास र पुँजी लगानीले अपरिहार्य हुन्छ । अफ्रिकी मुलुक कङ्गो कै कुरा गर्ने हो भने प्राकृतिक साधनमा सम्पन्न भएर पनि गरिब हुनुका कारण उपयोग गर्न नसक्नु हो । हामी पनि त्यस्तै अर्को दृष्टान्त हौँ । सिङ्गो अफ्रिका स्रोतसाधनको अभावमा गरिब भएको होइन, सही सदुपयोग गर्न नसक्दा गरिबको बिल्ला भिर्नु परेको हो । यसर्थ आर्थिक समृद्धि चाहने जुनसुकै मुलुकले प्राकृतिक साधनको समुचित उपयोग गर्ने सामथ्र्य जुटाउन सक्नु पर्छ । 

  

Author

रीता भण्डारी