• १६ असार २०८१, आइतबार

बालविवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस् : सांसद कार्की

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्की

काठमाडौँ, असार १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने÷गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले समाजमा बालविवाह ठुलो रोगको रूपमा रहेको भन्दै यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने बताउनुभयो । उहाँले संविधान र कानुनमा बाल विवाहलाई वर्जित गरिएको भए पनि कानुन कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

सांसद कार्कीले अहिलेपनि बाल विवाहको दर ३५ प्रतिशत रहेको र मधेश प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै यसलाई पूर्णरुपमा रोक्नुपर्ने बताउनुभयो । उहाँले कुनै कानुनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । उहाँले कानुन कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो ।

‘‘नेपालको संविधानको धारा ३९ को उपधारा(५) तर्फ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, यसले बालविवाह गर्न, गराउन पूर्ण बन्देज गरेको छ । यसले बालविवाहलाई अपराध मान्दछ । हाम्रो मुलुकी अपराध संहिताले त बाल विवाह गर्ने, गराउनेलाई कैद र सजाय नै तोकेको छ । तर यसका बाबजुद बाल विवाह हाम्रो देशमा निर्बाध रूपमा खुल्लमखुल्ला कुनै रोकतोक बिनै भइरहेको छ ।,’’ सांसद कार्कीले भन्नुभयो, ‘‘म आग्रह गर्न चाहन्छु, कानुनमा कुनै कमी कमजोरी छन् भने सदनलाई जानकारी गराइयोस् । त्यसलाई आवश्यकता अनुसार परिमार्जन गरियोस् । र यो समस्यामा गम्भीर ध्यान पुर्‍याइयोस् । बाल विवाह गर्ने, गराउनेलाई कडा कारबाही गरियोस् । कार्यान्वयनमा फितलोपन देखाउने प्रशासनपंक्तिलाई पनि कारबाहीको दायरामा ल्याइयोस् । बालविवाहविरुद्धको लडाइँलाई नारामा मात्र सीमित नराखियोस् । शिक्षा र रोजगारीमा पनि लगानी बढाइयोस् । विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्नेकुरामा सरकारको ध्यान जाओस् ।’’

सांसद कार्कीले सरकारले शिक्षा र रोजगारीमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले विपन्न वर्गलाई सहायता कोषको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।