• १५ असार २०८१, शनिबार

कनकाई नगरपालिकाले गाँजा खेती प्रवर्द्धन गर्ने

blog

वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का 

बिर्तामोड, असार १० गते । झापाको कनकाई नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कनकाई नगरपालिका क्षेत्रमा गाँजा खेतीको प्रवर्द्धन र विस्तार गर्ने नीति प्रस्तुत गरेको छ । उक्त नगरपालिकाले गत साउन १ गतेदेखि आफ्नो नगरभित्र सुर्तीजन्य पदार्थको भने खरिद बिक्री गर्न पूर्णतय प्रतिबन्ध लगाएको छ ।  

कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले यस आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कृषि तथा पशुपालनतर्फ उक्त योजना सार्वजनिक गर्नुभएको हो। शर्माले कृषितर्फ यसको अलवा उन्नत जातको बिउमा आत्मनिर्भर बन्ने गहुँखेती र तरकारी खेती प्रवर्द्धन, फलफूलको नर्सरी विकास, अन्न बैँक स्थापना, जैविक खेतीलाई प्रवर्द्धन तथा कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । उहाँले कृषिमा जोड दिँदै एक वडा एक नमुना सामूहिक खेती गरिने र कृषिको प्रवर्द्धनका लागि पत्रकार र सञ्चार माध्यमको समेत प्रयोग गरिने नीति सार्वजनिक गर्नुभएको छ । 

कनकाई नगरपालिकालाई आर्गनिक खेतीको नगर बनाईने भन्दै पशुपक्षि र माछामा समेत आत्मनिर्भर नगरपालिका बनाइने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कृषिका लागि खाने तेल तरकारी र दुध तथा मासुजन्य उत्पादन र बिउ उत्पादनका क्षेत्रमा नगरले सहजीकरण गरिदिने नीति सार्वजनिक गरिएको छ । 

कृषि क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनगर गर्दै कृषि बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने निति कनकाई नगरपालिकाले लिएको छ । समुन्नत सम्पदा दिगो पूर्वाधार, समृद्ध कनकाई मूल आधार भन्ने नारा तय गरेको कनकाई नगरले सडक निर्माण गर्दा सडकको दुबै किनारामा बिरुवाहरु रोपिने, पुराना सडक मर्मतका लागि हरेक वार्डलाई अनिवार्य कम्तीमा १० लाख रुपियाँ बजेट विनियोजन गर्ने लगायातको नीति नगरले लिएको छ । 

शिक्षातर्फ योग शिक्षा र ध्यान कक्षालाई हरेक कक्षामा अनिवार्य गरिने र स्थानीय मातृभाषमा पठनपाठन अनिवार्य गर्ने नीति लिएको छ । यता स्वास्थ्य क्षेत्रमा समेत नगर अस्पतालको स्तराेन्नति गरिने र एलोपेथिक चिकित्साको साथमा आयुर्वेदिक चिकित्सा प्रणाली र होमियोप्याथिक चिकित्सा प्रणालीको समेत विकास गरिँदै लगिने नीति लिएको छ। 

कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजित नगर सभामा सभासद (वडाध्यक्ष) हरुले प्रथाव गरिएको कार्यक्रममाथि सुझाव व्यक्त गर्नुभयो  । 

संसदीय प्रणाली अन्तर्गत आयोजना भएको सभामा सभाका अध्यक्ष नगरप्रमुख पोखरेलले नीति तथा कार्यक्रममा राखिएका कार्यक्रमहरु हटाउनु परे, थप्नु परे वा संशोधन गर्नुपर्ने हात उठाउनु होस् भन्दा कसैको पनि हात नउठेपछि पोखरेलले त्यसो भए समर्थन जनाउँदै प्रस्तावित नीति तथा कार्यक्रम पास गर्नुहोस् भनेपछि सभासदहरुले ताली बजाएर यस वर्षको नीति तथा कार्यक्रम छलफलका लागि पारित भएको थियो । कनकाई नगरपालिकाको आर्थिक बर्ष २०८१÷८२ को ६९ करोड ४३ लाखको अनुमानित बजेट छ।