• १४ असार २०८१, शुक्रबार

युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण

blog

युक्रेन, असार  ८ गते । रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात ‘ठुलो’ आक्रमण गरेको  युक्रेनले बताएको छ ।

जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त  हुनुका साथै  दुई कर्मचारीहरू घाइते भई जापोरिजियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।  यसले विगत तीन महिनामा “ऊर्जा पूर्वाधार सुविधाहरूमा आठौँ ठुलो, संयुक्त आक्रमण’’ भएको बताएको छ ।

रुसी आक्रमणको दुई वर्ष भन्दा बढी, लक्षित मिसाइल र ड्रोन आक्रमणहरूले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाई  किभलाई युरोपियन युनियनबाट ऊर्जा आयात गरी आपूर्ति गर्न बाध्य पारेको छ ।

युक्रेनी अधिकारीहरूले बिहीबार राति भएको ठुलो आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको बताएका छन् ।

युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा “गम्भीर क्षति’’ भएको बताएको छ । रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा क्षमता नष्ट गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

जेलेन्स्कीले यस हप्ता युक्रेनका सबै अस्पताल र विद्यालयहरूमा “सकेसम्म चाँडो“ सौर्य प्यानलहरू जडान गर्नुपर्ने बताउनुभयो । गर्मीको समयमा  बिजुलीमा प्रवाव पार्ने रुसी प्रयासहरू असफल गर्न  अवश्यका प्रयास गरिरहेको  उहाँले बताउनुभयो ।

डिटेकका प्रमुख कार्यकारी म्याक्सिम टिमचेन्कोले युक्रेनका पश्चिमी सहयोगीले ऊर्जा सञ्जालको रक्षा गर्न सैन्य सहायता प्रदान नगरे यो जाडोमा गम्भीर सङ्कटको सामना गर्नुपर्ने चेतावनी दिनुभयो ।

जेलेन्स्कीले युक्रेनका सहयोगीलाई देशको महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न थप हवाई रक्षा प्रणाली पठाउन बारम्बार आग्रह गर्नुभएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले वासिङ्टनले किभमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिने तथा अन्य देशहरूले अर्डर दिएको जानकारी दिनु भयो ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा जारी सन्देशमा  अमेरिकाको कदमका लागि आभार व्यक्त गर्नुभएको छ । यसका अतिरिक्त उहाँले हवाई रक्षा क्षमताले युक्रेनी सहरहरू र नागरिकको सुरक्षा गर्ने उल्लेख गर्नुभएको छ । रासस/एएफपी