• ३० वैशाख २०८३, बुधबार

पठन संस्कृतिका लागि पुस्तकालय व्यवस्थापन

blog

काठमाडौँ, असार ८ गते । पठन संस्कृति विकासका लागि पुस्तकालयको अत्यन्तै ठुलो महत्व रहेको बताइएको छ । पठन संस्कृति विकास गर्न पुस्तकालय र यसको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । 

मानव विकास तथा जागरण मञ्च नामक संस्थाले ‘पुस्तकालयको प्रभावकारी व्यवस्थापनमार्फत पठन संस्कृतिको विकास गरौँ’ भन्ने नारासहित विभिन्न क्षेत्रमा तालिम र सचेतना अभियान सञ्चालन गरेको छ । यसै अभियान अन्तर्गत असार १ देखि बुढानीलकण्ठ नगरपालिकाको बुढानीलकण्ठ माध्यमिक विद्यालयमा भएको एकहप्ते पुस्तकालय व्यवस्थापन तालिम शुक्रबार समापन भएको छ । बुढानीलकण्ठ नगरपालिका र मानव विकास तथा जागरण मञ्चले संयुक्त रूपमा बुढानीलकण्ठका सामुदायिक विद्यालयका पुस्तकालय हेर्ने शिक्षकशिक्षिकालाई  एकहप्ते पुस्तकालय व्यवस्थापन तालिम दिएको हो । 

बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले शिक्षा क्षेत्रमा परिवर्तन गर्न सके सबै क्षेत्रमा परिवर्तन हुने बताउनुभयो । उहाँले पुस्तकालयको उचित व्यवस्थापनबाट पठन संस्कृति विकास गर्न सकिने भन्दै यसका लागि आफू सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । बुढानीलकण्ठमा शैक्षिक विकासलाई पहिलो प्राथमिकतामा राखेको पनि उहाँले स्पष्ट पार्नुभयो । शिक्षामा बुढानीलकण्ठ नगरलाई सबैभन्दा अगाडि ल्याउन प्रयासरत रहेको उल्लेख गर्दै उहाँले यसका लागि उल्लेखनीय रूपमा बजेट वृद्धि गरेको बताउनुभयो । 

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललितविक्रम सिंहले बुढानीलकण्ठ नगरपालिकाले शैक्षिक उन्नयन वर्ष मनाइरहेको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीको आचरणको विकासमा केन्द्रित रही विद्यार्थीको आचरण, ज्ञान पक्ष र सिप पक्षको विकास गर्न खोजिरहेको उल्लेख गर्नुभयो । 

यसै गरी मानव विकास तथा जागरण मञ्चका अध्यक्ष मञ्जु श्रेष्ठले पुस्तकालय व्यवस्थापन पेसा निकै मर्यादित र सम्मानित भएको चर्चा गर्नुभयो । उहाँले यो पेसामा निकै राम्रो सम्भावना भएको उल्लेख गर्दै शैक्षिक विकासका लागि पुस्तकालय अपरिहार्य भएको बताउनुभयो । यसै गरी केशर पुस्तकालयका प्रमुख सुरेश यादवले नेपालमा २०५२ सालदेखि पुस्तकालय विज्ञानको पढाइ सुरु भएको उल्लेख गर्नुभयो । उहाँले धेरै विकसित देशमा चौबिसै घण्टा पुस्तकालय खु्ल्ने गरेको प्रसङ्गसमेत जोड्नुभयो ।