• १२ साउन २०८१, शनिबार

मेलम्चीको पानी तत्काल बन्द नहुने

blog

काठमाडौँ, असार ८ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरण तत्काल बन्द नहुने भएको छ । यसअघि बाढीपहिरोको जोखिमका कारण सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनाको सुरुङको मूलद्वार शुक्रबारदेखि बन्द गर्ने भनिएको थियो तर मुहान क्षेत्रमा पानी नपरेको र खोलाको पानी सफा नै रहेकाले तत्काल सुरुङ बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मेलम्ची खोलाको ‘क्लोज मोनिटरिङ’ तथा विशेष सावधानीसहित अहिले सुरुङमा पानी पथान्तरण गरिँदै आएको बताउँदै ठुलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने स्पष्ट पार्नुभयो । यसअघि खानेपानी मन्त्रालयले जेठ ३१ गतेदेखि नै सुरुङको मूलद्वार बन्द गर्ने निर्णय गरेको थियो ।

उहाँले अगाडि भन्नुभयो, “हामी खोलाको पानीको ‘क्लोज मोनिटरिङ’ मा छौँ । यदि मुहान क्षेत्रमा ठुलो पानी प¥यो । खोलामा लेदो बग्न थाल्यो भने पानी पथान्तरण तुरुन्त बन्द गर्छौं । सकेसम्म बढी समयसम्म काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने हाम्रो योजना छ ।” 

उहाँले भन्नुभयो, “अहिलेसम्म खोलामा पानीको बहाव बढेको छैन, सफा पानी बगेकोे छ । तत्काल पानी पथान्तरण बन्द गर्नुपर्ने अवस्था देखिएको छैन । विशेष सतर्कताका साथ सुरुङमा पानी पथान्तरण गरिएको छ । जहिले ठुलो वर्षा भएर जोखिम बढ्छ अनि तत्काल बन्द गरिने छ ।”

२०७८ असार १ गते तथा साउन १६ र १७ गते भ्रेमथाङबाट आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स संरचनालाई तहसनहस बनाएको थियो, जुन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । गत वर्ष असार २० गते पानी पथान्तरण बन्द गरिएको थियो भने माघ १ गतेबाट उपभोक्ताको धारामा पानी पठाउन सुरु गरिएको थियो ।