• १३ असार २०८१, बिहिबार

आयोजनाले काम गरेपछि कृषि उत्पादन बढ्यो

blog

जनकपुरधाममा आयोजना गरिएको क्लष्टर स्तरीय आयोजना समापन गोष्ठीमा सहभागीहरु । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, असार ७ गते । मधेश प्रदेशको धनुषा तथा महोत्तरी जिल्लाको बाढी प्रभावित चार पालिकामा सञ्चालन भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले काम गरेपछि ती पालिकामा कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि भएको छ । 

संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको आयोजनाले धनुषाको मुखियापट्टी मुसहरनीया तथा धनौजी गाउँपालिका एवं महोत्तरीको एकडरा र पिपरा गाउँपालिकामा ६ वर्षसम्म काम गरेपछि ती पालिकाको गरिव तथा विपन्न वर्ग, महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार आएको जनकपुरधाममा शुक्रबार खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको कार्यक्रममा सो जानकारी दिइएको छ ।

महोत्तरीको एकडरा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको नमूना कार्यक्रमको रुपमा रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको अधिकांश कार्यक्रमहरुवाट महिला, सिमान्तकृत समूदायका साथै विपन्न वर्गका व्यक्तिहरु बढी मात्रामा लाभान्वित भएका छन् । 

धनुषा तथा महोत्तरीको बाढी प्रभावित रहेका चार पालिकामा २०७५ कात्तिक २८ गते देखि २०८१ असार मसान्तसम्म आयोजनाको काम चल्ने उहाँले बताउनुभयो । आयोजनाको कामपछि महिलाको नेतृत्व क्षमताको विकास हुनुका साथै खेतवारीमा उत्पादन भएको र आर्थिक अवस्थामा सुधार आएको आयोजनाका क्लष्टर इकाई धनुषाका योजना तथा कृषि अधिकृत रितेशकुमार झाले जानकारी दिनुभयो ।

मधेश प्रदेशको कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले कृषि क्षेत्रमा नमूना आयोजनाको रुपमा रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनको कामले ती पालिकाका किसानहरु खुशी हुनु स्वागत योग्य भएको बताउनुभयो । 

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. जागेश्वर यादवले आयोजनाले विभिन्न क्षेत्रमा काम गरेर गरिव तथा विपन्न वर्गको मन जीत्न सफल हुनुले आयोजना सफल भएको बताउनुभयो । 

आयोजनावाट धनुषाका १० हजार ६ सय ३६ घर धुरी तथा महोत्तरीमा २५ हजार ३ सय ५० घर धुरी लाभान्वित भएको बताइएको छ । आयोजनाले विभिन्न क्षेत्रमा ८५ प्रतिशत अनुदन किसानलाई दिने काम गरेको थियो ।