• १३ असार २०८१, बिहिबार

कोहलपुरमा बारुद विस्फाेट

blog

बारुद विस्फाेट भएर खाडल परेको स्थान ।

गजेन्द्र गुरुङ

खजुरा, असार ७ गते । बाँकेको कोहलपुरमा बारुद्ध विस्फाेट भएको छ । कोहलपुर नगरपालिका ९ मा गए राति माटोमुनि दबिएर रहेको अवस्थामा बारुद आफै विस्फाेट भएको हो । विस्फाेट भएको स्थानमा ठूलो खाडल बनेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीले कोहलपुर नगरपालिका ९ झण्डहवा गाउँ जाने सडकबाट पश्चिमतर्फ रहेको कच्ची बाटोको किनारमा बारुद विस्फाेट भएको बताउनुभयो ।

कच्ची सडकको छेउँमा गए राति साढे १ बजेको समयमा बारुद विस्फाेट भएको र विष्फोट भएको क्षेत्रमा खाडल बनेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विष्फोट भएको ठाउँ आसपास कुनै वस्ती नरहेका कारण मानवीय क्षति भएको छैन् ।

“द्वन्द्वकालीन अवस्थाको बारुद पनि भन्न सकिदैन, त्यो कच्ची बाटो बनेको ६–७ वर्ष भएको छ, बाटो बनाउन बाहिरबाट ल्याइएको माटोमा पनि बारुद आएर पुरिएको हुन सक्छ, पहिलादेखि नै त्यहीं भएको पनि हुन सक्छ” प्रनाउ डाँगीले भन्नुभयो, “रातिको समयमा विस्फाेट भएको र नजिकै कुनै बस्ती नभएका कारण मानवीय तथा भौतिक क्षति हुन पाएन ।”

विस्फाेट क्षेत्रमा पुरानो कालो प्लाष्टिकको टुक्रा मात्र फेला परेको उहाँले जानकारी दिनुभयो । शुक्रबार बिहान नेपाली सेनाको बम एक्सपोर्ट टोली घटनास्थल पुगेर वरिपरि चेकजाँच गरेको र चेकजाँचका क्रममा अन्य कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको उहाँले बताउनुभयो ।