• ४ साउन २०८१, शुक्रबार

आकाश गर्जंदा झस्किन्छन् मनाङी

blog

बाढीपूर्वको ताल गाउँ । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, असार ७ गते ।
वर्षायाममा पानी पर्दा खुसी नहुने को होला र ? कृषिप्रधान मुलुक भएर होला बालीनाली लगाउन वर्षा नै कुर्नुपर्छ । सिँचाइको प्रबन्ध नभएका ठाउँमा आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता अझै हटेको छैन । यसको ठीक उल्टो भएको छ मनाङमा । जब पानी पर्न थाल्छ अनि झस्कन्छन् मनाङी । लामो समय जोखिम र अभाव भोगेका मनाङी आकाश गर्जंदा तथा वर्षा हुँदा अहिले पनि झस्किने गरेका छन् ।

२०७८ असार १ गते ठूलो वर्षासँगै आएको बाढीपहिरोका कारण दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका मनाङी हालसम्म पनि आङ सिरिङ्ग भएको बताउछन् । सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युतको अभाव भोगेका थिए । जसले गर्दा अहिले पनि ठूलो वर्षा हुनासाथ सिरिङ्ग हुने गरेको नासोँ गाउँपालिका–५ धारापानीका स्थानीय कृष्ण गुरुङ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘‘अलि ठुलो पानी परेपछि मन झसङ्ग हुन्छ, फेरि पनि ठुलो पानी प¥यो भने अभाव र घरवासविहीन हुनुपर्छ कि भनेर पीर लाग्छ ।’’

त्यस्तै, चामेका फुर्वा लामा भन्नुहुन्छ, ‘‘लामो समय र ठुलो वर्षा भयो भने त मन आत्तिन्छ नै, कहीँ जानआउन समेत गाह्रो हुन्छ, कहीँबाट सहज रूपमा सहयोग पाउन समेत समस्या हुन्छ ।’’

वर्षायाम वा अन्य समयमा पनि मनाङको यात्रा सहज भने छैन । तर वर्षायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ । वर्षायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को ठाउँमा सडक भत्किने हुँदा मनाङ जाने स्थानीय तथा जोकोही पर्यटकलाई आवतजावतमा समस्या हुने गरेको नासोँ गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामा बताउनुहुन्छ ।

२०७८ असार १ मा आएको बाढीले चामे गाउँपालिका–१ तिमाङ खोलामा बनेको मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलबाटै स्थानीय आवतजावत गर्न बाध्य छन् । चामे गाउँपालिकाका मात्रै चारवटा काठेपुल छन् । घट्टेखोलमा भने हालै दुईटा नयाँ काठेपुल निर्माण गरिएको छ । डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो ।

२०७८ असार १ को बाढीले सबैभन्दा बढी क्षति नासोँ गाउँपालिकामा परेको थियो । सो गापाका वडा नं. ३, ८ र ९ मा २४ घरधुरी पूर्णरुपमा क्षति भएका थिए । यसैगरी, वडा नं १ तालगाउँमा ५० घरधुरीमा क्षति पुगेको थियो । सिङ्गै तालगाउँ डुबान तथा कटानमा परेको थियो । बैंक, विद्यालय मर्स्याङ्दीमा मिसिए । यसरी सधैँ असार १ गते झस्काइरहने मर्स्याङ्दी नदीको वितण्डा आफूहरुका लागि साह्रै पीडादायक भएको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । त्यो घटना एकदमै कहालीलाग्दो र आफूहरुले कहिल्यै बिर्सन नसक्ने उहाँको भनाइ थियो ।

तल्कालीन अवस्थामा मुख्यमन्त्री, गृहमन्त्री, प्रधानमन्त्रीलगायतले मनाङको भ्रमण गरेर सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि हालसम्म अन्य उल्लेख्य कार्य केही नभएको उहाँको भनाइ छ । उहाँले तत्कालीन अवस्थामा सङ्घीय सरकारले एक करोड रुपियाँ पीडितलाई राहत दिएको बताउनुभयो । यसैगरी, विभिन्न संघसंस्था र भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट प्राप्त भएको केही रकले ताल गाउँको संरक्षणका लागि तारजाली लगाइएको उहाँको भनाइ छ । हाल तालगाउँलाई तारजाली लगाई पर्खालले घेरेर राखिएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रमबारे छलफल गर्ने क्रममा विपद् पूर्वतयारीका लासिग पाँच लाख रुपियाँ छुट्याई सामग्री तुरुन्तै किन्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी युवराज अर्यालले जिल्ला प्रशासन कार्यालय मनाङ विपद् पूर्वतयारीका लागि प्रतिकार्य योजना बनाएर अघि बढेको बताउनुभयो ।

उहाँले विपद् पूर्वतयारीका रुपमा सबै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको बताउँदै भन्नुभयो, ‘‘सम्बन्धित सरोकारला निकाय र जिल्ला विपद् व्यवस्थापन समितिबाट पनि पारित भइसकेको छ ।’’

स्थानीय स्तरमा स्थानीय विपद् सहायता कक्ष र जिल्ला स्तरमा जिल्ला विपद् सहायता कक्षको पनि व्यवस्थापन गरिएको छ । चारवटै गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकारीलाई राखेर विपद्का सामग्री किन्न बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको उहाँको भनाइ थियो ।