• १४ असार २०८१, शुक्रबार

जिपिएस जडानपछि प्रभावकारी बन्दै एम्बुलेन्स सेवा

blog

काभ्रेपलाञ्चोक, असार ७ गते । काभ्रेपलाञ्चोकमा सञ्चालित एम्बुलेन्समा ‘ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस)’ जडानपछि सेवा प्रभावकारी बन्दै गएको छ । सञ्चार प्रणाली तथा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर)मार्फत एकद्वार प्रणालीबाट एम्बुलेन्स सञ्चालन गर्न जिपिएस जडान गरिएपछि सेवा प्रभावकारी बन्दै गएको जनस्वास्थ्य कार्यालयका अधिकृत सृजना अधिकारीले जानकारी दिनुभयो । 

जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, जिल्ला जनस्वास्थ्य कार्यालय र धुलिखेल अस्पतालस्थित प्रेषण केन्द्रको समन्वयमा यहाँका १३ स्थानीय तहमध्ये पहिलो चरणमा ११ तहका २२ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको सहयोगमा पहिलो चरणमा २२ एम्बुलेन्समा निःशुल्क जिपिएस जडान गरिएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार बाँकी एम्बुलेन्समा जिपिएस जडानका लागि प्रदेश सरकारसँग थप बजेट माग गर्न कार्यालयको योजना रहेको छ ।

यहाँको मण्डनदेउपुरका तीन, पाँचखालका दुई, पनौती नगरपालिकाका दुई, महाभारतको एक, रोशीका तीन, बेथानचोकका दुई, खानीखोलाका दुई र चौरीदेराली गाउँपालिकामा सञ्चालित तीन तथा धुलिखेल अस्पतालको एक एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । जिल्लामा स्थानीय तह, सङ्घसंस्था एवम् क्लबमार्फत ४७ एम्बुलेन्स सञ्चालित छन् । जिपिएस जडान गरिएका एम्बुलेन्सले एक वर्षसम्म कुनै शुल्क तिर्नुनपर्ने र एक वर्षपछि भने नवीकरण गर्नुपर्ने व्यवस्था रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

जिपिएस जडानपछि एम्बुलेन्सको अवस्था र चलिरहेका बारेमा प्रेषण केन्द्रमा स्क्रिन र जनप्रतिनिधिले मोबाइलबाट सम्पूर्ण जानकारी लिन थालेका छन् । धुलिखेल अस्पतालका डा.सानु श्रेष्ठले एम्बुलेन्समा जिपिएस जडानपछि सेवामा प्रभावकारिता बढ्दै गएको बताउनुभयो । “हामीले बिरामी ल्याउन आफन्तले सम्पर्क गर्ने वित्तिकै उहाँहरुको नजिक भएका एम्बुलेन्सलाई तुरुन्तै सम्पर्क गरी पठाइहाल्छौँ, यसो गर्दा बिरामीलाई समयमै अस्पताल आउन सजिलो भएको छ”, उहाँले भन्नुभयो । 

यसअघि वर्षौदेखि यहाँका अधिकांश एम्बुलेन्स सरकारले लागू गरेको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका-२०७८’लाई बेवास्ता गरी मापदण्डविपरीत सञ्चालन हुँदै आएका थिए । निर्देशिकाले सेवारत एम्बुलेन्समा जिपिएस जडान भएको हुनुपर्ने, तालिम प्राप्त चालक र आकस्मिक चिकित्सकीय प्राविधिक (इएमटी) रहनुपर्ने व्यवस्था उल्लेख छ । यहाँ रहेका एम्बुलेन्समा निर्देशिकाअनुसार कामदण्डको पालना र भाडादरमा एकरुपता ल्याउन तथ्याङ्क सङ्कलन गरी जिपिएस जडान गरिएको जनाइएको छ । 

जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न सङ्घसंस्था एवम् दातृ निकायबाट प्राप्त भएकामध्ये स्थानीय तहद्वारा सञ्चालित एम्बुलेन्स केही बिग्रिएर थन्किएका छन् भने केहीलाई सञ्चालनका लागि नवीकरण तथा मर्मतको प्रयास भइरहेका छन् । रासस