• १२ असोज २०८१, शनिबार

सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । फाइल तस्बिर

महोत्तरी, असार ६ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउनुभएको छ । 

महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस सङ्गठन नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने उल्लेख गर्नुभयो । “जनताका आवश्यकता पूरा गर्न र समृद्धिको यात्रा अघि बढाउने उद्देश्यका साथ सरकारसँग सहकार्य गरिएको हो”, अध्यक्ष नेपालले भन्नुभयो, “सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन ।” यद्यपि सत्ता गठबन्धनमा सहभागी दलहरूबिच सघन संवाद भने हुन नसकेको उहाँको गुनासो थियो ।

“सरकार सञ्चालन गर्न सत्ता गठबन्धन दलबिच सरसल्लाह भइरहनुपर्छ, यो पर्याप्तरुपमा हुन सकेको छैन”, अध्यक्ष नेपालले भन्नुभयो । गठबन्धन दलहरूबिचको सम्बन्ध जीवन्त राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मुख्य पहलकदमी हुनुपर्ने उहाँको सुझाव छ । पार्टीको महाधिवेशनको तयारीका सिलसिलामा विभिन्न जिल्लाको दौडाहामा रहनुभएका अध्यक्ष नेपाल महोत्तरी आउनुभएको हो । रासस