• १२ असोज २०८१, शनिबार

श्री एयरलाइन्सको काठमाडौं-भरतपुर परीक्षण उडान सफल

blog

शालिग्राम नेपाल 

चितवन, असार ६ गते । श्री एयरलाइन्सले काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । श्री एयरलाइन्सको ८० सिटे जहाज विहीबार काठमाडौंबाट भरतपुर विमानस्थलमा सफल अवतरण भएको हो । 

सफल अवतरण पश्चात उक्त जहाज पुनः काठमाडौं गएको छ । जहाज परीक्षणको निरीक्षण गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङ भरतपुर आउनुभएको थियो । उडान परीक्षणका क्रममा कुनै समस्या नभएको श्री एयरलाइन्सका प्रबन्ध निर्देशक सुधिर मितलले जानकारी दिनुभयो । ८० सिट क्षमता भएको जहाज पहिलो पटक भरतपुर विमान स्थलमा अवतरण गरेको छ । 

यस अगाडि ४२ सिट क्षमता भएको जहाज मात्र यहा अवतरण हुँदै आएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि मात्र नियमित उडान भर्ने श्री एयरलाइन्सले जानकारी दिएको छ । उडान अनुमतिको प्रक्रिया पुरा गर्न केहि महिना लाग्नेछ । अहिले काठमाडौं–भरतपुरमा बुद्ध एयरले मात्रै उडान भर्दै आएको छ । 

बुद्ध एयरको ४२ सिटे जहाजले उडान भर्ने गरेका छन् । भरतपुर–काठमाडौंको एकतर्फी भाडा चार हजार आठ सय भन्दा बढी छ । श्री एयरलाइन्सले नियमित उडान थालेपछि हवाई भाडा घट्न सक्ने श्री एयरलाइन्सका प्रबन्ध निर्देशक मितलले जानकारी दिनुभयो । 

‘हवाई भाडा पक्कै पनि घट्ने छ । तर, कति घट्छ भन्ने कुरा चाँहि उडान भर्नेबेलामा जानकारी गराउछौँ’, प्रबन्ध निर्देशक मितलले भन्नुभयो । भरतपुर विमानस्थल विस्तार र टर्मिनल भवनको निर्माण कार्य भइरहेको छ । गृहमन्त्री लामिछाने, पर्यटनमन्त्री तामाङ र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले निर्माणाधीन टर्मिनल भवनको निरीक्षण गर्नुभएको छ । 

विमानस्थल विस्तार भएपछि यहाँ रात्रिकालिन हवाई सेवा पनि सुरु हुने छ । ढिलोमा सन् २०२५ को सुरुवातदेखि विमानस्थल विस्तारको काम सुरु हुने छ । विस्तारपछि विमानस्थलको रनवे १८ सय मिटरको हुनेछ ।

भरतपुर महानगर प्रमुख दाहालले ८० सिटे जहाजको सफल परीक्षणसँगै महानगरबासीको सपना साकार भएको बताउनुभयो । भरतपुर देशकै मध्य भागमा पर्ने भएकाले पनि भरतपुर विमानस्थल विस्तारको योजनालाई महानगरले समेत पहल गर्दै आएको उहाले जानकारी दिनुभयो । पर्यटनमन्त्री तामाङले एक वर्षभित्रै रनवे विस्तारको काम सुरु हुने जानकारी दिनुभयो । 

गृहमन्त्री लामिछानेले चितवन अथाह सम्भावना भएको जिल्ला भएको बताउँदै पर्यटकको संख्या बढाउनका लागि विमानस्थल विस्तारको कामले ठूलो सहयोग पुग्ने बताउनुभयो । विमानस्थल विस्तारमा आफुले सक्दो सहयोग गर्ने उहाले प्रतिवद्धता व्यक्त गर्नुभयो । 

भरतपुर विमान स्थलको उत्तर तर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र हटाएर धावन मार्ग विस्तार गर्ने तयारी रहेको छ ।