• १३ असार २०८१, बिहिबार

भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

blog

फाइल तस्बिर ।

नयाँ दिल्ली, असार ४ गते । भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको हो ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाएको छ । यस्तै, अधिकारीले पीडित महिला र उनका तीन छोरीको पहिचान गरिनुका साथै भग्नावशेषबाट तीन वर्षीय बालकको शव पनि निकालिएको जानकारी दिनुभयो । 

सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना  मानिस बाढीले प्रभावित भएका छन् । बाढीले प्रभावित जिल्लाहरूको एक हजार ३७८.६४ हेक्टर बाली उत्पादन क्षेत्र असर पारेको छ  ।

हाल ४७० गाउँ पानीमा डुबेका एएसडिएमएले जनाएको छ । स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र खोलेको छ जसमध्ये अधिकांश करिमगञ्जमा स्थापना गरिएको छ ।

अधिकारीले राहत शिविरमा पाँच हजार ११४ जनालाई शरण दिँदै राहत कार्य जारी रहेको जानकारी दिनुभयो ।

तटबन्ध, सडक र पुलहरू लगायत पूर्वाधारमा भएको क्षतिको परिमाणले प्रभावित जनसङ्ख्यालाई सहायता प्रदान गर्न कठिनाइहरू बढाएको उहाँहरूले बताउनुभयो । गत महिना पश्चिम बङ्गाल र बङ्गलादेशको तटमा आएको चक्रवात रेमलपछि भारी वर्षाले गर्दा आसाम र मणिपुर राज्यमा क्षति पुगेको छ । रासस