• ७ कात्तिक २०८१, बुधबार

साउनदेखि प्लास्टिक झोला बोक्न नपाइने

blog

कपडाका झोला सिलाउँदै महिला । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, असार ५ गते । भीरकोट नगरपालिकाले प्लास्टिकजन्य झोलाको प्रयोगमा न्यूनीकरण गर्ने अभियानमा जुटेको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्लास्टिकजन्य झोला न्यूनीकरण र सामुदायिक विद्यालयमा सूचना प्रविधिमैत्री कार्यक्रममार्फत सो अभियान सुरु गरिएको हो ।  

साउन १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य झोला बोक्न बनाउने र प्लास्टिकजन्य पदार्थबाट प्याकिङ भएका सामग्रीलाई पनि कपडाको झोलामा बोक्नु पर्नेछ । 

नगरपालिकाले प्लास्टिकजन्य फोहरमैला न्यूनीकरण गर्न १३ हजार थान कपडाको झोला निःशुल्क वितरण गर्ने तयारी गरेको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले असार मसान्तभित्र नगरपालिकामा रहेका सबै घरधुरीमा दुई–दुई वटाका दरले नगरपालिकाको लोगोसहित झोला वितरण गरिने बताउनुभयो । 

कार्यक्रमको दिगोपनालाई मध्यनजर गर्दै २० जना महिला उद्यमीलाई एक हप्ते झोला सिलाउने तालिम दिएको ढुङ्गानाले बताउनुभयो । तालिम लिएका महिलाबाट वितरण गर्ने झोला सिलाएको बताउँदै ढुङ्गानाले उत्पादन गरेका सपिङका झोला पालिकाभित्रका पसलबाट बिक्री गरिने बताउनुभयो । 

कपडाको झोला प्रयोग नगर्ने र प्लास्टिकजन्य झोला बोक्नेलाई नेपाल सरकारले तोकेअनुसार कारबाही हुनेछ । प्लास्टिक प्रयोगबाट वातावरणमा पर्ने असर, फोहोर मैलाको वर्गीकरण लगायतका विषयमा जनचेतना जगाउन र झोला वितरणमा करिब ३१ लाख रुपियाँ खर्च हुनेछ । 

सूचना प्रविधिमैत्री एवं प्लास्टिकमुक्त नगरपालिका कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिकाले वर्गीकरण नभएको फोहोर नउठाउने निर्णय समेत गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सो व्यवस्था कार्यान्वयन गर्न खोजिएको छ । 

सूचना प्रविधिमैत्री एवं प्लास्टिकमुक्त भीरकोट कार्यक्रम सञ्चालन गर्न पालिकाले  ३५ लाख ७६ हजार र गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले ६५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।