• १३ असार २०८१, बिहिबार

क्रसर उद्योग नवीकरण गरी व्यवसायीका माग सम्बोधन गर्न सांसद चौधरीको माग

blog

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरी

काठमाडौँ, असार ५ गते । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूको माग तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै चौधरीले यस्तो बताउनुभएको हो ।

सांसद चौधरीले नेपाल क्रसर तथा खानी उद्योग महासङ्घले कानुनी रूपमा दर्ता भएका २०७७ को मापदण्डका कारण नवीकरण नभएका उद्योगीहरू नवीकरणको माग लिएर आन्दोलन गरिरहेको बताउनुभयो । उहाँले सरकारले आन्दोलनरत उद्योगीहरूको माग तत्काल सम्बोधन गरी उद्योग नवीकरण गर्न माग गर्नुभयो ।

उहाँले क्रसर उद्योगीहरूको आन्दोलनमा नेकपा एसको ऐक्यबद्धता रहेको समेत बताउनुभयो । उहाँले सरकारले क्रसर उद्योगीहरूको माग सम्बोधन गरी सरकारले लिनु पर्ने कर, दस्तुर र शुल्क लिएर अनुमति दिने निकायले नवीकरण गरी सञ्चालनका लागि २०८० माघ ११ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गर्नुभयो ।

सांसद चौधरीले गृह मन्त्रालयको रेकर्ड अनुसार वैध तथा अवैध गरी एक हजार २८१ वटा क्रसर उद्योगहरू सञ्चालनमा रहेको र  सात सय क्रसर उद्योगहरू साना तथा घरेलु उद्योगमा दर्ता रहेको बताउनुभयो । उहाँले क्रसर उद्योगमा ५० हजार श्रमिकहरूले रोजगारीमा पाएको भन्दै सरकारले उद्योग नवीकरण नगर्दा ५० हजार श्रमिकको रोजगार समेत गुम्ने खतरा बढेको बताउनुभयो ।

उहाँले क्रसर एउटा उद्योगमा सात करोड बराबरको लगानी गरी मुलुकभर क्रसर उद्योगमा ८९ अर्ब ८१ करोड लगानी भएका उद्योगहरू अहिले बन्द अवस्थामा रहेको बताउनुभयो । उहाँले लगानीकर्ताको घरखेत लिलामी हुने अवस्थामा पुगेको भन्दै सेटिङ गर्न जान्नेहरूको अवैध उद्योग पनि सञ्चालनमा रहेको बताउनुभयो ।

उहाँले सरकारले आवश्यक नीति बनाएर क्रसर उद्योगीहरूको माग सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।