• १३ असार २०८१, बिहिबार

मेलम्ची खानेपानीलाई एडिबीद्वारा दुई अर्ब अनुदान

blog

काठमाडौँ, असार ५ गते । एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठुलो क्षति पुर्‍याएकाले हेडबक्स निर्माणका लागि एडिबीले दुई अर्ब (१९ दशमलव ७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपियाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।

बाढीसँगै बगेर आएका गेग्रान र ढुङ्गाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झण्डै एक हजार मिटरमाथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडिबीेले दुई अर्बभन्दा बढी नेपाली रुपिया अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताउनुभयो ।

दुई वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो ।

सरकारले सहमति जनाएसँगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको छ । आयोजनाले चार वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसका लागि झण्डै साढे तीन अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।