गुणबहादुर रोका
सुलीकोट, असार ५ गते । गोरखामा मृत चितुवा भेटिएको छ । पालुङटार नगरपालिका–७ च्याङलिङस्थित म्याङ्गो गार्डेन रिसाेर्ट नजिकै सडकमा मृत चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत महेश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीयवासी र प्रहरीले डिभिजन कार्यालय गोरखामा जानकारी गराएपछि डिभिजन कार्यालय गोरखाको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरी मुचुल्का उठाएर बेलुका साँझ १ बजे डिभिजन वन कार्यालय गोरखामा ल्याइएको उहाँले बताउनुभयो ।
मृत अवस्थामा रहेको चितुवालाई कार्यालयले दुरुपयोग नहुने गरी सुरिक्षत ठाउँमा व्यवस्थापन गरिने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
मृत चितुवाको टाउकोदेखि पुच्छरसम्मको ५ फिट २ इन्च लम्बाइ २० किलो तौल रहेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । मृत अवस्थामा फेला पारेको चितुवाको शरीरमा कुनै चोटपटक नदेखिएकाले वृद्धा चितुवा शिकार गर्न नसकेर मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत पौडेलको भनाइ छ ।