• १३ असार २०८१, बिहिबार

कोहलपुर पूर्ण खोप सुनिश्चितता घोषणा

blog

कोहलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुँदै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ४ गते। कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। 

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मंगलबार आयोजना गरिएको एक कार्यक्रममा औपचारिक रूपमा कोहलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो। 

कोहलपुर नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनु भएका चौधरीले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। 

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले खोपको आवश्यकता र महत्त्वबारे अभिभावकलाई नै बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले नियमित खोपका कारण जीवनको आयु लम्बिने भएकाले त्यसको बारेमा आम अभिभावकलाई जानकारी गराउनुपर्ने बताउनुभयो।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने र स्वास्थ्यमा पहिलो नम्बरको कार्यक्रम नै खोप कार्यक्रम भएको बताउनुभयो।

कोहलपुर नगरपालिकामा खोप लगाउन छुटेका २६ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यकारी अधिकृत विक्रम पाण्डे, कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष लालबहादुर राना, सामाजिक विकास समितिका संयोजक ईश्वरी विक, वडा नं.२ मा रहेको स्वास्थ्य चौकीका इन्चार्ज लीलाबहादुर बुढाथोकी, महिला स्वास्थ्य स्वयंसेविका भगवती बस्नेत लगायतले बोल्नुभएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर उपप्रमुख सङ्गीता सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ओपेन्द्र नाथ योगी, वडा नम्बर १३ का वडाध्यक्ष डम्बर खड्का, डब्लु.एच.ओ.का प्रतिनिधि डा. प्रस्तुति शर्मा, सरला न्यौपाने, विभिन्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति थियो।