• १२ असार २०८१, बुधबार

पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी

blog

पेरिस, असार ४ गते । जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ ।

गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबिचको सहकार्यमा तयार भएको “रिङ्स अफ फायर’’ प्रतिवेदनले बढ्दो तापक्रमका कारण पेरिसको अवस्था सन् २०२१ मा टोकियोमा भएको भन्दा खराब हुन सक्ने बताएको छ ।

प्रतिवेदनमा सन् २०२४ को जुलाई–अगस्ट मा हुने पेरिस ओलम्पिकमा तीव्र गर्मीका कारण खेलका क्रममा प्रतिस्पर्धीहरु बेहोस हुने र ज्यान समेत गुमाउन सक्ने जस्तो जटिल अवस्था हुनसक्ने चेतावनी दिइएको छ ।

“रिङ्स अफ फायर’’ प्रतिवेदनले सामान्यतया उत्तरी गोलार्धको उचाइमा गर्मीको समयमा आयोजना हुने प्रतियोगिताहरू–जस्तै ओलम्पिक वा विश्वकप फुटबलका आयोजकहरूलाई आफ्नो तालिकामा पुनर्विचार गर्न आग्रह गर्दछ ।

अध्ययनले गर्मीको जोखिमबाट बच्न पुनर्जलीकरण र शीतलका योजनाहरू पनि प्रदान गर्नुपर्ने तर्क गरेको छ । जुलाई २६ देखि अगस्ट ११ सम्म चल्ने पेरिस ओलम्पिक फ्रान्सको राजधानीमा सामान्यतया सबैभन्दा गर्मी समयमा हुने तयारीमा छ । रासस/एएफपी