• १२ असार २०८१, बुधबार

प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छे

blog

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे । फाइल तस्बिर

भक्तपुर, असार ४ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशका प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयताका विषयमा बुझाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । कानुन अध्ययन समाजले भक्तपुरमा आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक कार्यक्रममा उहाँले तीनवटै तहका १० प्रतिशतभन्दा कम मान्छेले मात्र राजनीति र सङ्घीयताको विषयलाई बुझेकाले सो सम्बन्धमा सबै नागरिकलाई बुझाउनुपर्ने खाँचो औँल्याउनुभयो ।  

राजनीतिक कार्यकर्ता र संसद सदस्यले पेन्सन लिन नहुने उल्लेख गर्दै उहाँले संसद सदस्यहरुले ठेक्का-पट्टाको काममा हात हाल्न नहुने धारणा व्यक्त गनुभयो । नेता बिजुक्छेँले भन्नुभयो, “संसद् सदस्य ठेक्कापट्टा र विकास भन्दै हिँड्ने होइन, उनीहरुले त नीति बनाउनुपर्ने हो । नीति बनाउनुपर्ने मान्छेले विकास निर्माण गरेकै कारण सङ्घीयताको कार्यान्वयनमा समस्या आएको हो ।”

देशका लागि राम्रा, इमानदार र कर्तव्यनिष्ठ कानुनविद्को आवश्यकता रहेको भन्दै उहाँले उहाँले हरेक कुरालाई आलोचनात्मक रुपमा हेर्न र सभ्यतादेखिकै इतिहासको अध्ययन गर्न युवा पुस्ताको ध्यानाकर्षण गर्नुभयो । समाजका संस्थापक अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान मस्यौदाका क्रममा स्वायत्तता र विकेन्द्रीकरणमा जोड दिएको स्मरण गर्दै संवैधानिक रुपमा प्राप्त स्थानीय तहको अधिकार क्रमशः खोसिने क्रममा रहेको भनी चिन्ता व्यक्त गर्नुभयो । रासस