• १२ असार २०८१, बुधबार

रोजगार प्रवर्द्धन गर्न ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम

blog

छलफल र अन्तरक्रिया कार्यक्रममा सहभागिहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ४ गते । नेपालगन्ज उपमहानगरपालिकाले रोजगारी प्रवर्द्धन गर्न ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि सुरु गरिने सो कार्यक्रमका विषयमा स्थानीय उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरिएको छ । 

नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा नेपालगन्ज उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले आफ्ना लागि चाहिने अनुसारका कामदारलाई दक्ष बनाउने गरी उपमहानगरपालिकाले तालिम दिएको अवस्थामा उनीहरुलाई पदस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उद्योग व्यवसायमै तालिम दिएर कामदार पदस्थापन गर्ने लक्ष्यका साथ आगामी बजेटमा यो कार्यक्रम समेटिने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताउनुभयो। 

उहाँले उद्योग व्यवसायको आवश्यकतामा आधारित सीप तथा दक्षता अभिवृद्धि तालिम सञ्चालन गर्ने तथा बेरोजगारलाई त्यहीँ नै पदस्थापन गर्ने नीति लिएर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । 

नेपालगन्जमा भारतबाट थुप्रै श्रमिकहरु आउने गरेको भन्दै उद्योगी व्यवसायीहरुले स्वदेशी नागरिकलाई उद्योगधन्दा वा व्यवसायको आवश्यकताका आधारमा तालिम दिने गरी योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले यो कार्यक्रमले उद्योगधन्दा, कलकारखाना, होटल, व्यवसाय, प्रतिष्ठानले पनि दक्ष कामदार पाउने र बेरोजगारी पनि घटाउने बताउनुभयो ।

रोजगारदाता उद्योग व्यवसायको प्रवर्धन, बेरोजगार व्यक्तिहरुको दिर्घकालीन रोजगारी र पालिकाको समृद्धिमा सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रम गरिएको रोजगार सेवा केन्द्र प्रमुख मञ्जु ज्ञवालीले बताउनुभयो । सो अवसरमा विभिन्न उद्योग, व्यवसाय, होटल तथा प्रतिष्ठानका सञ्चालकहरुले आफूहरुलाई चाहिएको कामदारको प्रकृति र सङ्ख्याबारे समेत उपमहानगरलाई जानकारी गराएको रोजगार सहायक अनुप बर्माले जानकारी दिनुभयो । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, अधिकृत दिपेन्द्र श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीलगायत उद्योगी व्यवसायीको सहभागिता थियो ।