• १२ असार २०८१, बुधबार

बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरियो : प्रमुख सचेतक शाही

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही

काठमाडौँ, असार ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै प्रमुख सचेतक शाहीले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको बताउनुभएको हो ।

उहाँले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएमा कर्णाली प्रदेशमा क्षेत्रीय दल बन्नसक्ने चेतावनी दिनुभयो । उहाँले सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो ? भनी प्रश्न गर्नुभयो ।

‘‘भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो ? म आज सभामुखलाई भन्न चाहन्छु, यो भाषा कर्णालीको हो । यो भाषा संसदमा नबोल्नुस् । संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईँहरूले आफ्नो भाषा निर्माण गर्नुस् । यो जुम्लाको सिञ्जा, कर्णालीबाट आएको भाषा हो । याद दिलाउन चाहन्छु, २०५६ सालमा कर्णालीका पाँच जिल्ला एमालेका लालकिल्ला थियो । २०६४ सालमा माओवादीको किल्ला भएको कर्णाली जब राज्यसत्ताले कर्णालीले आज प्रचण्डलाई प्रचण्ड बनाएको हो ।,’’  प्रमुख सचेतक शाहीले भन्नुभयो, ‘‘कर्णालीको गल्ली गल्लीमा जनताले रगत बगाएर आज माओवादीका साथीहरू यहाँ मन्त्री बन्नुभएको हो । तर आज तिनै माओवादीका अध्यक्ष प्रधानमन्त्री भइरहँदा, केपी ओली सत्तापक्ष दलको संसदीय दलको नेता भइरहँदा कर्णालीलाई बजेट उपेक्षित गरिन्छ भने यहाँ कुनै पार्टी रहेन । कुनै दल रहेन । अब यही अवस्था यदि सिर्जित हुन्छ भने कर्णालीमा आफ्नो क्षेत्रीय दल बन्न सक्छ ।’’

उहाँले कर्णाली प्रदेशलाई अपमान गर्ने भए कर्णाली प्रदेशको सिञ्जाबाट आएको नेपाली भाषा नबोली आफ्नै भाषा निर्माण गर्न पनि उहाँले चेतावनी दिनुभयो ।